कोरानासम्बन्धी तथ्यांक हटाइने


रियो डि जेनेरो, (एजेन्सी)

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि भएका पहल असन्तोषजनक भएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोको व्यापक आलोचना हुन थालेपछि ब्राजिल सरकारले सरकारी वेबसाइटबाट महिनौंदेखिको कोरोना भाइरससम्बन्धी तथ्यांक हटाएको छ ।

स्वास्थ मन्त्रालयले अबदेखि विगत २४ घण्टासम्मको मात्र कोरोनासम्बन्धी तथ्यांक प्रकाशित गर्ने र अन्य मुलुकले जस्तै विस्तृत विवरण सार्वजनिक नगर्ने निर्णय गरेको छ ।

साथै बोल्सोनारोले बढ्दै गएको तथ्यांकले वर्तमान स्थितिको सही तस्वीर चित्रण नभएको बताएका छन् । कोभिड–१९ को कारण विश्वमा सबैभन्दा बढी व्यक्तिको ज्यान जाने सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिले अन्य मुलुकका तुलनामा मृत्यु दर उच्च रहेको छ ।

ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा ६ लाख ४० हजारभन्दा बढी संक्रमित हुनुका साथै ३५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।