भारतमा लकडाउन हटे विस्फोटक हुन सक्ने !


जेनेभा, (एजेन्सी)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक प्रमुख विशेषज्ञले भारतमा लकडाउन हटाउनुले कोरोना भाइरस संक्रमणमा डरलाग्दो वृद्धि हुने चेतावनी दिएका छन् । भारतमा कोरोना भाइरस महामारीलाई लिएर स्थिति अझै विस्फोटक छैन । तर देशमा मार्चदेखि लागू लकडाउन हटाउनेतर्फ बढ्नुले यस प्रकारको जोखिम बढेको छ ।

डब्ल्यूचओका स्वास्थ्य संकट स्थिति कार्यक्रमका कार्यकारी निर्देशक मिसेल रियानले शुक्रबार भारतमा कोरोना भाइरस संक्रमित संख्या दुई गुणा हुनलाई यो स्तरमा करिब ३ हप्ता मात्र समय लाग्ने गरेको जानकारी दिए ।

भारतको विभिन्न हिस्सामा महामारीको असर फरकफरक भएको रियानले बताए । शहर र ग्रामीण क्षेत्रको बीचमा यसमा अन्तराल छ । दक्षिण एसियामा भारत मात्र नभई घना आवादी भएका अन्य देश बंगलादेश र पाकिस्तानमा पनि महामारीको विस्फोटक रूप आएको छैन । तर यस्तो हुने खतरा भने सधैं रहने उनले बताए ।

‘जब महामारी फैलिरहने हो र समुदायमा अड्डा जमाउने हो भने कयौं ठाउँमा देखिएजस्तै यसले कुनै पनि समय आफ्नो प्रकोप देखाउन सक्छ।’ –उनले भने । भारतमा देशव्यापी लकडाउन जस्तो कदमले संक्रमण फैलिने गतिलाई कम गरेको छ तर देशमा गतिविधि शुरू भएपछि संक्रमण बढ्ने खतरा बनेको छ ।

रियानले भने– ‘भारतमा उठाइएको कदमले निश्चितरूपमा संक्रमण फैलिने रफ्तार कम गर्ने दिशामा असर पारेको छ । अन्य ठूला देशको जस्ता भारतमा पनि गतिविधि शुरू हुने, मानिसहरूको आवागमन पुनः शुरू भएपछि महामारीको प्रकोप देखिने जोखिम सधैं रहनेछ ।’

भारतमा ठूलो स्तरमा पलायन, शहरमा घना आवादी तथा श्रमिकसँग दैनिक काममा जानुबाहेकको अन्य विकल्प नहुनु जस्ता विशिष्ट मुद्दा पनि रहेको उनले बताए ।

भारतले कोभिड–१९ महामारीको मामिलामा इटलीलाई पछाडि पार्दै विश्वको छैटौं सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशमा संक्रमणको एक दिनमा सर्वाधिक संख्या आएको छ, जसमा ९ हजार ८ सय ८७ नयाँ संक्रमित पुष्टि भएका छन् भने २ सय ९४ को मृत्यु भएको छ । योपछि भारतमा अहिलेसम्म संक्रमणको कुल संख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको छ भने मर्नेको संख्या ६ हजार ६ सय ४३ पुगेको छ ।

डब्ल्यूएचओका वैज्ञानिक सौम्या स्वामिनाथनले १ अर्ब ३० करोड आवादी भएको भारतमा २ लाखभन्दा धेरै कोरोना भाइरस संक्रमण हुनु धेरै जस्तो देखिएपछि जनसंख्याको हिसाबले यो अत्यन्त धेरै नभएको बताए ।