राष्ट्रपति संविधानदेखि टाढिए


एजेन्सी ।

अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयताविरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गर्दै उनी “संविधानदेखि टाढिएको” बताएका छन्।

पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिएका छन्। प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए।

पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताएका छन्।

ट्वीट गर्दै ट्रम्पले पावललाई “आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति” भनेका छन्। अफ्रिकी-अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहिसकेका छन्।

ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उनी पनि उभिएका छन्।

प्रहरी नियन्त्रणका क्रममा अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि जातीयता र प्रहरी दमनविरुद्ध प्रदर्शनहरू हुँदै आएको केही दिनपछि पछिल्लो विकासक्रम भएको हो।

तनाव मत्थर हुँदै जाँदा आइतवारदेखि अमेरिकाभरि सुरक्षाका कदमहरू खुकुलो पारिएका छन्।न्यूयोर्कमा हप्तादेखि लगाइएको कर्फ्यू हटाइएको छ र ट्रम्पले वाशिङ्गटन डीसीबाट फर्कन न्याश्नल गार्डलाई आदेश दिन लागेको बताएका छन्।

सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावलले भने, “हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ। तर राष्ट्रपति संविधानदेखि टाढिएका छन्।”

ट्रम्पलाई इङ्गित गर्दै अवकाशप्राप्त चारतारे सैनिक जनरल पावलले भने, “उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन्। किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन्।”

अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको भन्दै पावलले भने, “यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ।”

उनले थपे, “सामाजिक र राजनीतिक हिसाबले म जो बाइडनसँग निकै नजिक छु। मैले उनीसँग ३५, ४० वर्ष काम गरेको छु। अहिले उनी उम्मेदवार छन् र म उनलाई मत दिनेछु।”मध्यमार्गी रिपब्लिकनका रूपमा चिनिने पावलले सन् २०१६ मा ट्रम्पलाई मत दिएनन्।

आफ्नो अन्तर्वार्तामा उनले पछिल्ला दिनमा ट्रम्पको आलोचना गरेका सैनिक नेतृत्त्वहरूप्रति समर्थन पनि जनाए।

तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा ज्वाइन्ट चीफ्स अफ स्टाफ रहेका जनरल मार्टिन डेम्प्सेले राष्ट्रपति ट्रम्पका शब्दले अमेरिकी नागरिक र सैनिकबीचको सम्बन्धमा आघात पुगेको एबीसीको द वीक कार्यक्रममा आइतवार बताए।