कन्नड फिल्मका अभिनेता चिरञ्जिवीको ३९ वर्षको उमेरमा निधन


काठमाडौँ ।
कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार दिउँसो हृदयघातका कारण ३९ वर्षको उमेरमा बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो ।

उनको कोभिड–१९ परीक्षण पनि गरिएको छ जसको रिपोर्ट हाल प्राप्त भएको छैन ।

मुख्यमन्त्री येदिरुप्पाले हिजो राति ट्विटमा लेखेका छन्,- “लोकप्रिय कन्‍नाडा कलाकार चिरञ्‍जीवी सर्जाको निधनको दुखद् खबर पाउँदा स्तब्ध भएको छु, उनीप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दै परिवारमा यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गर्दछु।”

फिल्मी परिवारसँग सम्बन्ध राख्ने चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । आफ्नो करियरमा उनले ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनले मुख्य अभिनेताको भूमिका वहन गरेका थिए। २२ वटा कन्नड फिल्ममा काम गरे ।

उनको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो । उनका हजुरबुवा शक्ति प्रसाद र काका अर्जुन सरजा पनि फिल्मी स्टार हुन् । यस्तै, उनका भाइ ध्रुव सरजा पनि यो क्षेत्रमा निकै सक्रिय हिरो हुन् ।