हाइप्रोफाइल जुवाडेकाे कोरोना त्रास देखाउँदै छुट्ने प्रयास असफल

१ सय ७९ चिप्समाथि अनुसन्धान हुँदै


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामको लागि सरकारले सामाजिक दुरी कायम गर्न आग्रह गरेपनि लकडाउनकै बेला होटलमा जुवा खेल्ने क्रममा पक्राउ परेका ९ जना व्यापारीहरुमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । तीन दिन अघि पाँच दिनको लागि म्याद थपेर प्रहरीले जुवाखालमा बरामत भएका १ सय ७९ वटा चिप्समाथि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा सहितलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रन्जन दाहालले न्युज अफ नेपाललाई बताउनुभयो ।

जुवाखालबाट पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेका छन् । प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद बरामद गरेको थियो । प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद बरामद गरेपनि चिप्सकाे भ्यालु लाखाैँकाे थियाे । चिप्सबाट लाखाैँकाे जुवा खेलाइ भएकाे अनुमान गर्न सकिन्छ ।

डिएसपी दाहालले भन्नुभयो,‘म्याद थपेर पक्राउ परेका जुवाडेहरु अहिले हिरासतमा छन, आज तेस्रो दिन अनुसन्धान भइरहेको छ, उनीहरुको साथबाट पक्राउ गरिएको १ सय ७९ वटा चिप्समा कारोबार भएको विषयमा अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न अप्ठाराे पर्नसक्ने स्रोतको दाबी छ ।

स्रोतका अनुसार जुवाडे व्यापारी छुटाउन बहालवाला र भूतपूर्व प्रहरीका उच्च अधिकारीहरूसमेत हात धोएर लागेका थिए । व्यक्तिसम्बन्धका आधारमा पक्राउ परेका जुवाडे व्यापारीलाई छुटाउन उनीहरुले विभिन्न तिक्रडम गरेका थिए ।

साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको उल्लेख छ । स्रोतले भन्यो– ‘जुवामा प्रयोग भएका क्वाइन र चिप्सको मूल्यांकन सयमा होइन १० हजार रुपियाँमा गरिएको हुन सक्छ । अर्बौपति व्यापारीको खालमा १००/५० खेल हुँदैन १ हजार रुपियाँको क्वाइनलाई ५० हजार वा लाखमा गणना गरिएको हुनसक्छ । त्यसका लागि सूक्ष्म अनुसन्धानको खाँचो छ ।’

जुवाको खाल चलेको सूचनाका आधारमा प्रहरी छापा मारेपछि उच्च घरानियाँ व्यापारी रहेको रहस्य खुलेपछि प्रहरीलाई घटनालाई सामान्यकरण गर्न गाह्रो परेको छ ।

‘अहिले ९ जना व्यापारीको साथबाट करिब ३ लाख नगद बरामद भएको मुचुल्का तयार गरिएको छ । विभिन्न बैंक, बीमा कम्पनीका सञ्चालक, अर्बौपति उद्योगपतिको खेल कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ’, स्रोतले भन्यो– ‘त्यहाँ अन्य गतिविधिहरु पनि भएको सुराकी प्रहरीलाई आएको थियो । कि प्रहरीले अन्य जानकारी लुकायो कि जानकारी पाएन । जुवा मात्रै होइन त्यहाँ अन्य हुने अन्य गतिविधिमाथि पनि अनुशन्धान केन्द्रित गर्न जरुरी देखिन्छ ।’

पक्राउ परेका व्यापारीले सरकारले बजेट निर्माणसम्म पहुँच राख्छन् भन्ने उदाहरण एक साताअघि प्रस्तुत आगामी आर्थिक वर्षको बजेटबाट स्पष्ट भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधानमा चर्को कर लगाएको छ । तर, बजेट प्रस्तुत हुनु केही समयअघि विशाल ग्रुपले ल्याएको १७५ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भयो । यसबाट राज्यलाई करिब ५५ करोड रुपियाँ राजस्व नोक्सान भएको प्रारम्भिक अनुमान छ ।

राजस्वको दर बजेट सार्वजनिक हुनुअघि नै जानकारी पाउने व्यापारी अहिले जुवाको खालबाट समातिएका छन् । उनीहरूलाई जोगाउन सरकारका मन्त्री नलाग्ने कुरा भएन, फिल्डको प्रहरी त विचारमात्रै हो । स्रोतले भन्यो ।

जुवाको खालमा समातिएका व्यापारीको संलग्नता

अशोककुमार अग्रवालः -अवैतानिक महाविणज्यदूत गिनी – म्यानेजिङ डाइरेक्टर, विशाल ग्रुप  निर्देशक, -लाइफ इन्स्योरेन्स कर्पोरेसन

 

रामचन्द्र संघाईः  -निर्देशक, त्रिवेणी ग्रुप  -सञ्चालक, एनआईसी एसिया बैंक  -सरकारबाट गत वर्ष महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान प्राप्त व्यक्ति

नन्दकिशोर शर्माः अध्यक्ष, ज्योति लाइफ इन्स्योरेन्स

सुरेश अग्रवाल

  •  अध्यक्ष, सूर्या लाइफ इन्स्योरेन्स

विमल आहुजा

  • सञ्चालक विशाल ग्रुप