कीर्तिपुरकाे प्रत्येक वडामा क्वारेन्टाइन


सुनील महर्जन, काठमाडौं ।

विदेशमा रहेका नेपाली फर्काउने तयारी सरकारले गरिरहेका बेला कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउने भएको छ ।

नगरपालिकाको कार्यपालिकाको बैठकले वडा नं १ देखि १० सम्म प्रत्येक वडामा क्वारेन्टाइन बनाउने निर्णय गरेको नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो । ‘यही जेठ २० गतेसम्म सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन तयार भइसक्नेछ । त्यसका लागि आवश्यक प्रबन्ध गरिरहेका छौं ।’ –मेयर महर्जनले भन्नुभयो ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको बताउँदै मेयर महर्जनले भन्नुभयो– ‘विदेश गएका यहाँका मानिस आउँदा कोरोना भाइरसबाट संक्रमित हुन सक्ने आशंका गर्दै टोल–टोलमा खैलाबैला मच्चिन सक्ने अवस्था आउन सक्छ । त्यसलाई ध्यानमा राखेर क्वारेन्टाइन बनाउने निर्णय गरेका हौं ।’

बाहिरबाट आएका कीर्तिपुरबासीलाई सीधै घरमा नपठाई आइसोलेसन अवधिभरका लागि रहनसहनको व्यवस्थापन गर्न, क्वारेन्टाइनमा बस्नेलाई स्वास्थ्य उपचारसम्बन्धी आवश्यक सहयोग गर्न क्वारेन्टाइन सञ्चालन गर्न लागिएको मेयर महर्जनले बताउनुभयो । नगरपालिकाका अनुसार वडामा तयार हुने क्वारेन्टाइनमा २० जनासम्मको क्षमता हुनेछ ।

क्वारेन्टाइन बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरिएको छ । प्रशासन, प्रहरी, वडा अध्यक्ष, स्वास्थ्य, शिक्षा शाखाका कर्मचारी सम्मिलित क्वारेन्टाइन व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

क्वारेन्टाइनका लागि आवश्यक भौतिक पूर्वाधार तयारी गर्ने र सुरक्षाकर्मी, चिकित्सक राख्नेबारे छलफल गरिरहेको उपप्रमुख सरस्वती खड्काले बताउनुभयो ।

नगरपालिकाले क्वारेन्टाइन निर्माणसम्बन्धी आफ्नै मापदण्ड तयार गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्न निकै कठिन हुने उल्लेख गर्दै उपप्रमुख खड्काले भन्नुभयो– ‘क्वारेन्टाइनका लागि हुनुपर्ने आवश्यक सुविधालाई ध्यानमा राखेर मापदण्ड तयार गरेका छौं ।’

उपप्रमुख खड्काका अनुसार क्वारेन्टाइन बस्तीभन्दा कम्तीमा ५० मिटरको दूरीमा हुनेछ । प्रत्येक व्यक्तिका लागि अलग–अलग ओड्ने र ओछ्याउने, हाउजिङ फिड, व्यक्तिगत सामग्री, डसबिन, बाल्टिन र जगको व्यवस्था हुनेछ ।

क्वारेन्टाइनमा विधुत्, पानीको सहज उपलब्ध गराउने, टेलिफोन तथा इन्टरनेटको व्यवस्था गर्ने, एक व्यक्तिदेखि अर्का व्यक्तिको दूरी ५ देखि ६ फुट कायम गर्ने, नियमित सरसफाइ गर्ने, खाना, स्वास्थ्य सुविधा व्यवस्था गर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूलाई आवश्यकताअनुसार आरडीटी र पीसीआर परीक्षण गरी रिपोर्टमा नेगेटिभ देखिएमा घर पठाउने नगरपालिकाले जनाएको छ ।

५ सय जनासम्म बस्न मिल्ने क्वारेन्टाइन निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । त्यसै गरी नगरपालिकाले नगरमा पीसीआर सेन्टर स्थापना गर्ने तयारी गरिरहेको छ ।