कञ्चनपुर ।
कञ्चनपुर जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।
भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयले उपलब्ध गराएको विवरणानुसार आइतबार १ सय ७, शनिबार २ सय ६२, शुक्रबार १ सय ७८, मङ्गलबार ८६, बुधबार २ सय ५४ र बिहीबार १ सय ७१ भारतीय नागरिक सीमा नाका हुँदै घर गएका हुन् ।
सीमा नाकामै स्वास्थ्य जाँच गरी भारतीय नागरिकहरुलाई भारततर्फ पठाइएको हो । भारत जाने नागरिकमा पुरुष, महिला र बालबालिका रहेका छन् । यसैगरी सीमा नाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै १७ नेपाली फर्केका छन ।
आइतबार तीन हजार ५८, शनिवार तीन हजार ७ सय ५२, शुक्रबार दुई हजार ७ सय ७८, बिहीबार दुई हजार ४ सय ५, बुधबार एक हजार ५ सय ८६, मङ्गलबार ६ सय ९० र सोमबार दुई हजार ६ सय ३७ नेपाली भारतबाट पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्केका छन् ।
व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्नेलगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सीमा नाका प्रवेश गराइएको हो । सीमा नाका प्रवेश गराइएकालाई खाना नास्ताको व्यवस्था गरिएको थियो ।
उनीहरूलार्ई सामाजिक दूरी कायम गर्न लगाई ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वान्रेन्टिनमा पठाउन यातायातका साधनको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया