लकडाउनले बढायाे कालोबजारी  


ललित सिंह, चैनपुर, बझाङ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले मुलुकमा लकडाउन भए पछि बजार क्षेत्रमा कालो बजारी देखिएको छ । लकडाउन नहुँदा अगाडी दैनिक उपभोग्य बस्तु साथै अन्य मालसामानहरुको मुल्यदर अहिले एकाएक बृद्धि भए पछि उपभोक्तालाई समस्या परेको छ ।

बझाङ जिल्लामा पनि लकडाउन भए यता बजार क्षेत्रमा कालोबजारी बढ्दै गएको छ । स्थानीय ब्यापारीहरुले आफू संग लकडाउन अगाडी खरिद गरेर मालसामानहरुको अहिले कृतिम अभाब देखाएर मालसामानहरुको मूल्य बृद्धि गरी कालो बजारी भैरहदाँ समेत यसको रोकथाम नियन्त्रणका लागी भने सम्बन्धीत निकायले चासो देखाएको छैन् ।

बजारमा अहिले दैनिक उपभोग्य बस्तुहरु दाल,चामल,तेल सहित अन्य सामानहरुको दोब्बरले मुल्य बृद्धि भैरहेको छ । लकडाउन अगाडी प्रतिकिलो चामलको ३४ रुपैया पर्ने मोटो चामलको अहिले ४५/५० रुपैया पर्ने गरेको जयपृथ्बी नगरपालिका ३ पडेशका अशोक खड्काले बताए ।

उनले भने गाउँ तिरका ब्यापारीहरु संग केहि सामान पुरानै थियो केहि नयाँ थपिरहेका छन् मुल्य दामासाहि रुपमा लिएको छ । गाउँघरका ब्यापारी होस् या बजार क्षेत्रका ब्यापारीहरुले हरेक सामानहरुको साबिकको मुल्य भन्दा बढाएका छन् । ब्यापारीहरुले दैनिक उपभोग्य जस्तै तरकारी,लुगाकपडामा पनि मुल्य बढाएको देखिन्छ ।

१५ रुपैया पर्ने एक बट्टा बिडीको अहिले बजारमा ५० रुपैया लिने गरेको छ भने तेल,साबुनमा पनि दोब्बररुपमा मूल्यबढाएको छ । लकडाउनको यो अवधिमा मालसामानको अभाब हुन स्वभाबिकै हो उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले भने कृतिम अभाब गरी कालो बजारी गर्न नगराउन हामीले पनि सबै ब्यापारीहरुलाई सुचना तथा जानकारी गरेका छौ । फेरी यस्तो भेटीएमा आवश्यक कावार्हि गरिने छ ।

जिल्लको मुटु मानिने जयपृथ्बी नगरपालिकाको अवस्था त यस्तो छ भने अन्य बिकट बस्तीमा रहेका ११ वटा स्थानीयतहमा रहेका ब्यापारीहरुले गरेको सामानको मुल्य बृद्धि सहजै अनुमान गर्न सकिन्छ ।

चैत्र ११ गतेबाट देसमा लकडाउन भए पछि ब्यापारीहरुले पनि धनगढीबाट मालसामान ल्याउन पाएका छैनन् । पछिल्लो समयमा जिल्लामा खाद्यन्न अभाब भए पछि केहि ठूला ब्यापारीहरुलाई खाद्यन्न ढुवानीको लागी जिल्ला प्रशासनले गाडीको पास दिने ब्यावस्था मिलाएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उद्योग बाणिज्य संघ, प्रहरी प्रशासनले दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब नगर्न र अनावश्यक मालसामानको मुल्य नबढाउन जानकारी गदै आएको भए पनि तर ब्यापारीहरुले भने आफू खुसी लगडाउनको बेलाको फाईदा उठाउदै सबै चिज बस्तुहरुको मुल्य बढाई रहेका स्थानीयहरुको गुनासो रहेको छ ।

बजारमा कालोबजारी र मुल्यबृद्धि भैरहेको जनगुनासो आउदाँ पनि यो अवश्था भने रोकिएको छैन् । चैनपुरको एक होलसेल तरकारी पसलका ब्यापारी लोकेश ओलीले भने तरकारी लगायत अन्य खाद्य बस्तुहरु धनगढी बाटै साबिकको भन्दा मुल्य बृद्धि भएर आएको छ त्यसका कारणले पनि केहि सामानहरुको दरभाव बढेको बताए ।

लकडाउनको यो अवधिमा जिल्लामा के कति खाद्यन्न र तरकारी भित्रीयो भन्ने आधिकारीक बिवरण नभए पनि तर लकडाउन अगाडी भन्दा यो समयमा खाद्यन्न तथा तरकारी ढुवानी धेरै भएको बुझिएको छ । भारतबाट मान्छेहरु थुप्रै आएर करेन्टाईनमा बसेका हुदाँ खेरी पनि उनीहरुको खानपिन र राहत बितरणका लागी पनि अहिले सबै स्थानीयतहहरुले ब्यापारीहरुबाट ठूलो मात्रामा खाद्यन्न खरिद गरिरहका छन् ।