रहेनन् कालजयी गीतका सर्जक थापा

0
Shares

सयौं कलाजयी गीतका सर्जक रत्न शमशेर थापा अब यो धर्तीमा रहेनन्। बिहीबार उनले अन्तिम श्वास फेरे।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनले अन्तिम श्वास फेरेका हुन्। उनी लामो समयदेखि नसासम्बन्धी रोगसँग जुधिरहेका थिए।
विभिन्न गायक गायिकाद्वारा गाइएका स्वर्गकी रानी, बल्ल मनमा बारीका कान्ला, वसन्तै तिमी, गोरेटो त्यो गाउँको, घुम्तीमा न आऊ है, ए कान्छा ठट्टैमा, फूलै फूलको मौसम तिमीलाई, पक्षीमा डाँफे राम्रो, जाग लम्क चम्क हे नौ जवान हो, यो खोलाको सङ्लो पानी, बिछोडको पीडा नसकी खप्न, गोरेटो त्यो गाउँको, हजार आँखामा जस्ता सार्थक सुगम, राष्ट्रिय भावना र विभिन्न विधाका गीतहरु रचना गरेका थिए।

त्यसै गरी विभिन्न फिल्मका लागि उकाली ओराली गर्दै, डाँडा पाखा, फूलको डाली डालीमा, सप्तरंगी फूलै फुल्यो, सुन्दरीको चाल, तिर्सना दिन दिनजस्ता गीतहरु पनि उनकै सिर्जना थियो।

थापा मुक्तक लेखन विधामा समेत अत्यन्त लोकप्रिय थिए।
८१ वर्षीय थापाको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र अन्तिम संस्कार गरिने भएको छ। उनको निधनप्रति सर्जकहरुले गहिरो दुःख व्यक्त गरेका छन्।