कोरोना संक्रमित गुल्मीका पुरुषको मृत्यु


यमलाल भुसाल, बुटवल ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका–६ निवासी पुरुषको मृत्यु भएको छ ।

उनको बिहीबार विहान मृत्यु भएको प्रदेश–५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पुष्टि गर्नुभयो । डा. चौधरीका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको हो ।

क्रिमसन अस्पतालमा जेठ १ गतेदेखि उपचार गरिरहेका ती पुरुषमा ५ गते कोरोना पोजेटिभ देखिएको थियो । जन्डिस, रुघा र ज्वरो आएका उनमा कोरोनाको आशंकामा जेठ २ गते स्वाब निकालेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा रूपन्देहीमा परीक्षण गरिएकोमा जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको क्रिमसन अस्पतालकै आईसीयूू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

ज्वरो आएपछि मदानेकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा स्वास्थ्य जाँच गराएका उनी त्यहाँ सञ्चो नभएपछि साथीसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए ।

उनको स्वास्थ्यमा जटिलता देखिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै सो पोलिक्लिनिकले उनलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरेको थियो । त्यसपछि उनी बुटवलबाट गएको एम्वुलेन्समा क्रिमसन अस्पताल आएका थिए ।

उनको मृत्यु नहुँदै बुधबार प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेलाई उद्धृत गर्दै विभिन्न अनलाइन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संक्रमितको मृत्यु भएको भन्ने समाचार प्रकाशित भएका थिए ।

मृत्यु नहुँदै मृत्युको समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले बुधबार दिउँसो विज्ञप्ति जारी गरी समाचारहरूको खण्डन गर्दै संक्रमित बिरामीको मृत्यु नभएको तर अवस्था गम्भीर रहेको प्रस्ट पारेको थियो ।

यसैबीच प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना भाइरस संक्रमण भई मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी शिक्षकको बिहीबार विहान दुःखद निधन भएको वताउनुभएको छ । मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री बरालले अनेकौं प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

विद्यालयका प्रधानाध्यापक रहेका शिक्षकको निधनले शिक्षा क्षेत्रमा अपूूरणीय क्षति पुगेको र यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

गुल्मीका युवाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी सुत्केरी महिला र बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको मृत्यु भएको थियो । कोरोना संक्रमितवाट मृत्यु भएका शिक्षकका आफन्तले सरकारको कमजोरीका कारण ज्यान गएको भन्दै उचित क्षतिपूूर्तिबिना अस्पतालवाट शव नउठाउन माग गरेका छन् ।

अस्पतालमा बिरामीलाई सहयोग गर्दै आउनुभएका र अहिले अस्पतालमै सिलमा रहेका सहोदर भाइ मीनबहादुर कुँवर, सालो विष्णुबहादुर वली र छिमेकी खिमबहादुर कँुवरले टेलिफोनवाट राहतबिना शव नउठाउन माग गर्दै सरकारले कोरोना संक्रमणपछि उपचारमा संवेदनशील नहुँदा मृत्यु भएको दाबी गरी सरकारको गैरजिम्मेवारीपना, अस्पतालको कमजोरी नै मृत्युको कारण भएको आरोप उहाँहरूको छ ।

जेठ १ गते विहान अस्पतालमा चिया बिस्कुट खाएका बिरामीको सोही दिन रोगको पहिचानबिना ढाडबाट पानी निकालेपछि अन्तिम अवस्थासम्म बिरामी अचेत रहनु अस्पतालको कमजोरी भएको दाबी भाइ मीनबहादुरको रहेको छ । त्यतिमात्र नभई मृत्यु नहुँदै अस्पतालका सञ्चालकले मरेको सूूचना सार्वजनिक गर्ने कार्यले पनि गम्भीर षड्यन्त्र भएको परिवारको दाबी छ ।