विकास योजनाका लागि वडा–वडामा ड्रोन


हेटौंडा, (नेस)

विकासका विभिन्न कार्यमा सहयोग मिल्ने विश्वासका साथ हेटौंडा उपमहानगरपालिकाका सबै १९ वडामा ड्रोन सर्वेक्षण शुरू गरेको छ । उपमहानगरका सबै वस्तुचित्र आउने गरी दुई साता हेटौंडा उपमहानगरका वडाहरूमा ड्रोन उड्नेछ ।

उपमहानगर मेयर हरिबहादुर महले उपमहानगरपालिका कार्यालयको छतबाट ड्रोन उडाएर सर्वेक्षण शुरू गर्नुभएको हो । पहिलो चरणमा ७ वटा वडामा ड्रोन सर्वेक्षण गरिने र दोस्रो चरणमा बाँकी वडामा ड्रोन सर्वेक्षण गर्ने तयारी गरिएको छ ।

नेपाल इन्जिरियरिङ एसोसिएसन बाग्मती प्रदेशको सहयोगमा ड्रोन सर्वेक्षण तथा नक्सांकन शुरू भएको हो । ड्रोन सर्वेक्षणले उपमहानगरलाई आगामी वर्षको योजना निर्माणका लागि सहयोग पुग्ने मेयर महतले बताउनुभयो ।

लकडाउनको समयमा सफा र सुन्दर तस्बीर आउने भएकाले समयलाई सदुपयोग गर्न लागिएको एसोसिएसन प्रदेश सदस्य सुरज गौतमले जानकारी दिनुभयो । तीन इन्जिनियरले दैनिक ड्रोनबाट सातवटा उडान गर्ने उहाँले बताउनुभयो ।

हेटौंडाका जग्गा–जमिन कतै मिचिएको, बाढी–पहिरोको जोखिम परेको वा कुनै स्थानमा परेका समस्या तत्काल समाधानका लागि यसले सहयोग गर्ने मेयर महतको विश्वास छ ।

एसोसियसन, ड्रोन नेपाललगायत संस्थाको सहयोगमा कुनै लगानीबिना ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागिएको हो । ड्रोनले जीपीएस लोकेसन लिनुका साथै उपमहानगरका सम्पूर्ण घर, स्कुल, सडक, जंगल, भीरपाखा, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना क्यामराले खिचेर नक्सा तयार पार्नेछ ।

नक्सा तयार भएपछि उपमहानगरपालिकाले आगामी दिनमा सहजरूपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी गर्न मद्दत गर्ने र सहज हुने विश्वास लिइएको छ ।

उच्च रिजोलुसनको नक्सा प्राप्ति र उच्च रिजोलुसनको डाटाको आधारमा विस्तृत शहरी विकास योजना तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउनु ड्रोन सर्वेक्षणको मुख्य लक्ष्य रहेको एसोसियसन प्रदेश सदस्य गौतमले बताउनुभयो ।