‘परीक्षण शुल्क निर्धारण भएको छैन’


काठमाडौं, (नेस)
स्वैच्छिक स्वास्थ्य परीक्षण शुल्क निर्धारण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी १५ हजार तिरेर निजी अस्पतालहरूमा पीसीआर टेस्ट गर्न पाइने भनी केही अनलाइनमा प्रकाशित समाचार भ्रामक भएको जनाएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट मंगलबार स्वदेशी तथा विदेशीले पैसा तिरेरै लाइनमा नबसी परीक्षण गराउने माग गरेकाले स्वैच्छिक परीक्षण गर्न सक्ने निर्णय गरेको भए पनि स्वास्थ्य संस्था र शुल्क भने नतोकिएको बुधबार जारी विज्ञप्तिमा स्पष्ट पारेको छ ।

यसैबीच कोरोना संक्रमण परीक्षणका लागि १८ भन्दा बढी प्रयोगशालाबाट परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयले बुधबार नयाँ थपिएका संक्रमित २५ सहित ४ सय २७ जना पुगेको जानकारी गराएको छ । मन्त्रालयले क्वारेन्टाइनमा बस्नेले पालना गर्नुपर्ने नियमका बारेमा पनि सूचना सार्वजनिक गरेको छ ।