सिन्धुलीकी पहिलो कोरोना संक्रमित महिलाको घरसहित अन्य पाँच घर ‘सिल’

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

मंगलवार कोरोना भाईरस संक्रमण पुष्टी भएका सिन्धुलीका महिलाको घर कमलामाई नगरपालिका –९ भिमान पन्नेसी भएको पुष्टी भएको । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंबाट पिसिआर परिक्षण गर्दा कमलामाई नगरपालिका – ९ भिमान पन्नेसी स्थायी घर भएकी २६ बर्षिया महिलालाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

काठमाडौंमा संक्रमण पुष्टी भएपछि महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको घर कमलामाई नगरपालिका –९ भिमान पन्नेसी भएको पुष्टी भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । उक्त संक्रमित महिलाको घर सहित छिमेकी पाँच वटा बुधवार दिउसोबाट घर सिल गरिएको छ ।

पाँच घरमा रहेका ४१ जनालाई होम क्वोरेन्टाईन(एकान्तबास)मा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो । अहिले प्रहरी चौकी भिमानबाट सुरक्षाकर्मीले सो क्षेत्रमा सतर्कता अपनाएको जनाएको छ । मंगलवार संक्रमण पुष्टी भएकी २६ बर्षिया महिला गत चैत १० गते घर आएको र करिव डेढ महिना घरमा बसेर बैशाख २७ गते फेरी काठमाडौं फर्किएको पाईएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले बताउनुभयो ।

संक्रमित महिलाको घर परिवार र उहाँको सम्पर्कमा आएकाहरुको भोलि पिसिआर परीक्षणका लागि स्वाब पठाईने उहाँले बताउनुभयो । हिजो सिन्धुलीका एक महिलामा कोरोना संक्रमण पुष्टी भएपछि सिन्धुलीमा सर्तकता बढाईएको छ । यस्तै मंगलवार सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणमा पोजेटिभ देखिएकाहरुको पिसिआर परिक्षणका लागि हेटौडा पठाईएको छ । ५० जनाको पिसिआर परिक्षणका लागि पठाईएको र बुधवार साँझ सम्ममा रिर्पोट आउने उहाँले बताउनुभयो ।