विकास योजनाका लागि वडावडामा ड्रोन

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

विकासका विभिन्न कार्यमा सहयोग मिल्ने विश्वासका साथ हेटौंडा उपमहानगरपालिकाका सबै १९ वडामा ड्रोन सर्वेक्षण सुरु गरेको छ । उपमहानगरका सबै वस्तुचित्र आउने गरी दुई साता हेटौंडा उपमहानगरका वडाहरुमा ड्रोन उड्नेछ । उपमहानगर मेयर हरिबहादुर महले उपमहानगरपालिका कार्यालयको छतबाट ड्रोन उडाएर सर्वेक्षण सुरु गर्नुभएको हो ।

पहिलो चरणमा ७ वटा वडामा ड्रोन सर्वेक्षण गरिने र दोस्रो चरणमा बाँकी वडामा ड्रोन सर्वेक्षण गर्ने तयारी गरिएको छ । नेपाल इन्जिरियरिङ एसोसिएसन बागमती प्रदेशको सहयोगमा ड्रोन सर्वेक्षण तथा नक्सांकन सुरु भएको हो । ड्रोन सर्वेक्षणले उपमहानगरलाई आगामी वर्षको योजना निर्माणका लागि सहयोग पुग्ने मेयर महतले बताउनुभयो ।

लकडाउनको समयमा सफा र सुन्दर तस्बीर आउने भएकाले समयलाई सदुपयोग गर्न लागिएको एसोसिएसन प्रदेश सदस्य सुरज गौतमले जानकारी दिनुभयो । तीन इन्जिनियरले दैनिक ड्रोनबाट सात वटा उडान गर्ने उहाँले बताउनुभयो ।

हेटौंडाका जग्गाजमिन कतै मिचिएको, बाढीपहिरोको जोखिम परेको वा कुनै स्थानमा परेका समस्या तत्काल समाधानका लागि यसले सहयोग गर्ने मेयर महतको विश्वास छ ।

एसोसिएसन, ड्रोन नेपाललगायत संस्थाको सहयोगमा कुनै लगानीबिना ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागिएको हो । ड्रोनले जिपीएस लोकेसन लिनुका साथै उपमहानगरका सम्पूर्ण घर, स्कुल, सडक, जंगल, भिरपाखा, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना क्यामराले खिचेर नक्सा तयार पार्नेछ ।

नक्सा तयार भएपछि उपमहानगरपालिकाले आगामी दिनमा सहजरुपमा योजना बनाउन सक्ने, विपद् व्यबस्थापनमा अग्रिम तयारी गर्न मद्धत गर्ने र सहज हुने विश्वास लिइएको छ । उच्च रिजोलुसनको नक्साप्राप्ति र उच्च रिजोलुसनको डाटाको आधारमा विस्तृत शहरी विकास योजना तथा विपद् ब्यवस्थापनमा सहयोग पु¥याउनु ड्रोन सर्वेक्षणको मुख्य लक्ष्य रहेको एसोसिएसन प्रदेश सदस्य गौतमले बताउनुभयो ।