भद्रपुर ।
भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना सङ्क्रमण देखिएपछि सो पालिकाका ५ दिनका लागि सिल गरिएको हो ।
सोमबार एक जना र मङ्लबार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको पालिका अध्यक्ष अञ्जरा आलमले बताउँनुभयो ।
गाउँपालिकाभित्र सात वटा वडा रहेका छन् । त्यसमध्ये १,२, ३, ४ र ५ नम्बर वडा भारतसंग जोडिएका छन् । सिल गरिएका वडाहरू भारतसँग जोडिएकोले त्यहाँबाट लुकिछिपी नेपाली नागरिक भित्रिन नदिनलाई सिल गरिएको उहाँको भनाइ छ ।
यता गत शनिबार भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जना नेपाली नागरिकलाई पथरिया माविमा बनाइएको क्वारेनटाइनमा राखिएको अवस्थामा मङ्गलबार सम्म १० जनाको रिपोर्ट पोजेटिभ आएपछि सो क्वारेनटाइन सिल गरिएको छ ।
उनीहरू सबैको स्वाब पीसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ । पोजेटिभ देखिएका उनीहरु १७ वर्षका २ जना ,१९ वर्षका ३ जना,२५ वर्षका २ ,२३ ,२४ र ३० वर्षका एक÷ एक जना रहेका छन् । उनीहरु सवै कचनकवलवासी हुन् ।
त्यसैगरी अब भारतबाट आउने नागरिकलाई अन्यत्र राखिने तयारी भइरहेको छ । त्यसका लागि केचनाको महेन्द्ररत्न माविमा एक सय बेडको थप क्वारेनटाइन बनाउने काम शुरु भइसकेको छ । पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेनटाइनमा एक महिला गरी ६४ जना रहेका छन् ।
जम्मा गाउँपालिकामा ९७ जनालाई क्वारेनटाइनमा राखिएको थियो । उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरु सवैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् ।











प्रतिक्रिया