न्युज अफ नेपाल,हेटौंडा ।
मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन् । उनीहरुले आफ्ना सेवासुबिधामा बेवास्ता गरिएको भन्दै आन्दोलन गरेका हुन् । विरोधपछि केही कैदी अनसनमा बसेका थिए । फोनको दुरुपयोग भएको र परिवारभन्दा बाहिर कल गरेको पाइएपछि उनीहरुलाई तत्कालका लागि फोन गर्न नदिइएपछि आन्दोलन भएको बुझिएको छ ।
सरकारले लकडाउन घोषणा गर्नुअघि नै कारागार प्रशासनले कोरोना संक्रमणबाट बचाउन भन्दै बाहिरको मानिसलाई कैदीबन्दीसँग भेट्न दिएको छैन । त्यसैले फोनको प्रयोग बढेको बताइन्छ । क्षेत्रीय कारागार कार्यालय भीमफेदीमा जेलर र नाइके मिलेर दमन गरेको भन्दै कैदीले विरोध गरेका छन् । सुबिधा माग गर्दै उनीहरु प्लेकार्डसहित आन्दोलनमा उत्रिए । दुई वटा ब्लकमा रहेका कैदीमध्ये ‘क’ ब्लकमा रहेका कैदीमाथि दमन गरिएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । उक्त ब्लकमा पाँच सय ३० कैदीबन्दी छन् ।
कैदीहरुले आन्दोलन गरेको जानकारी पाएपछि सशस्त्र प्रहरी उपरीक्षकलाई बुझ्न खटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । उनीहरुको आन्दोलन प्रहरीको रोहवरमा साम्य भएको प्रजिअ नेपालले बताउनुभयो । उनीहरुको समस्या समाधान भइसकेको प्रजिअ नेपालले बताउनुभयो ।
लामो समयदेखि कैदीहरुलाई नाइके र जेलर मिलेर कारागारमा आउने खाद्यान्न, तरकारीमा कमिसन लिएको, आफूले पाउने सुबिधा नदिएको, कैदीहरुलाई मानवअधिकार उलंघन हुने गरी व्यबहार गरेको, टेलिफोन लाइन काटेकोलगायत आरोप लगाइएको छ । कैदीबन्दीले गृहमन्त्रीलाई यसबारे पत्र लेखेका छन् । कारागारमा नौं सय ७६ कैदीबन्दी छन् ।











प्रतिक्रिया