लकडाउनको कार्यान्वयन गर्न सिमा नाकामा कडाई

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि राजधानी भित्रने पुर्वी नाका विपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रको टोलीले अनुगमन गरेको छ । राती र दिउसोको समयमा समेत अत्यावश्यक सेवा तथा पासका नाममा केहि दिन देखि कोरोना संक्रमण भएका जिल्लाहरुबाट नागरिकहरु राजधानी भित्रन थाले पछि सिमा नाकामा कडाई गर्न अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको नेतृत्वमा गएको टोलीले राजमार्गमा अत्यावश्यक सेवाका नाममा संचालन भएका सवारी साधनहरु, खाद्यान्न तथा तरकारी पसलहरु, स्थानीय नागरिकहरुका बारेमा जानकारी लिएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामासँग टोलीले रोशी गाउँपालिकासँगै जोडिएको सिन्धुली जिल्लाको नाकाको अवस्था र समस्याका बारेमा छलफल गरेको थियो ।

ईलाका प्रहरी कार्यालय मंगलटारले पुर्वी नाकाबाट आउने सवारी साधनहरुमा कडाई गरे सँगै स्थानीयहरुको चासो र संक्रमण फैलनसक्ने तर्फ गाउँपालिका अध्यक्ष डिबी लामाले चासो ब्यक्त गर्नु भएको थियो । जुन जिल्लाबाट सवारी साधन हिडेको हो त्यहि जिल्लाबाट नै रोक्नु पर्ने र पास तथा अत्यावश्यक सेवाका नाममा दुरुपयोग गर्नेहरुलाई कारवाही गर्न गाउँपालिका अध्यक्ष डिबी लामाले टोलीलाई सुझाव दिनु भएको थियो ।

टोलीमा विष्णु दल गण धुलिखेलका गणपति प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, शसस्त्र प्रहरी बल १५ नम्वर गण काभ्रेका प्रमुख एसपी पुरुषोतम थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, राष्ट्रिय अनृुसन्धान कार्यालय काभ्रेका प्रमुख सरोज निरौला लगायतको सहभागिता रहेको थियो ।

अरनिको राजमार्गको नाका साँगा देखि विपी राजमार्गको नाका नेपालथोकसम्मको अनुगमनका क्रममा पूर्ण रुपमा लकडाउन कार्यान्वयन भएको पाईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । लकडाउनको अझै कार्यान्वयन र नागरिकहरुको जीवन सहज बनाउन अझै पहल गर्ने तिमल्सिनाले बताउनु भयो ।

तरकारी बजार बन्द

कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि बनेपामा रहेका दुईवटा तरकारी बजार बन्द गर्ने निर्णय गरेका छन् । ब्यवसायीहरुले भिडभाड नियन्त्रण गर्न नसकेकै कारण जोखिम बढेकाले बन्द गर्ने निर्णय गरेको बनेपा तरकारी तथा फलफुल ब्यवस्थापन समितिका अध्यक्ष उदयराम कायश्थले बताउनु भयो । ब्यवसायीहरुको स्वतफुर्त निर्णयले जेष्ठ २ गते विहान ९ बजेबाट बन्द गर्ने निर्णय भएको हो ।

बनेपाकै अर्काे तरकारी बजारका अध्यक्ष पूर्णचन्द्र सिग्देलले कृषकहरुको उत्पादीत सामाग्रीको खपत तथा ब्यवसायीहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै सामाजिक दुरी कायम राखी ब्यवसाय गर्न अनुरोध गरिएको अध्यक्ष सिग्देलले बताउनु भयो । कृषकहरुको उत्पादन बजारसम्म पु¥याउन नपाउँदा समस्या हुने दुखेसो गरेका छन् भने उपभोत्ताहरुलाई पनि बजार बन्द गर्ने निर्णयले संकट हुने बताएका छन् ।

पिपिई र सूचना सामाग्री हस्तान्तरण

कोरोना भाइरस अथार्त कोभिड १९ बाट बचौं र बचाऔं भन्ने उदेश्यले काभ्रेपलाञ्चोक जिल्लालाई कोरोना मुक्त बनाई राख्न जिल्लाबासीहरुको तर्फबाट जिल्ला विपद ब्यवस्थापन समिति मार्फत विभिन्न क्षेत्रमा सहयोग पुग्ने गरी स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ । अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजको तर्फबाट जिल्ला विपद ब्यवस्थापन समितिलाई ३० थान पिपिई र ५० थान सन्देशमुलक सूचना सामाग्री समेटिएको फ्लेक्स प्रिन्ट उपलबध गराईएको काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले जानकारी दिनु भयो ।


‘उपचार संभव नभएक‍ो र सङ्क्रमणबाट नै महामारी हुन सक्ने उक्त रोगको रोकथामको निमित्त थोरै सहयोग पुगोस् भन्ने अभिप्रायले काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि अन्तर्रा्ष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाज, काभ्रेले संयुक्त रुपमा सामाग्री उपलब्ध गराएका हौं’– अध्यक्ष थापाले भन्नुभयो–‘जिल्लामा भएका काम प्रति हामी सन्तुष्ट छौं ।

नागरिकहरुको सुरक्षाका लागि खटिनु हुने तीन तहकै सरकारका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र नागरिक समाजका सम्पूर्ण क्षेत्रका ब्यक्तिहरुको मनोबल उच्च राख्न निरन्तर सक्दो सहयोग गर्ने छौं ।’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त सामाग्री समाजको तर्फबाट हस्तान्तरण गरिएको थियो ।

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामाले जिल्लाबासीहरु अन्तराष्ट्रिय क्षेत्रमा रहेर विभिन्न स्थानमा सेवा गरिरहँदा पनि जोखिम मोलेरै जिल्लाका लागि थोरै भए पनि सहयोग गर्ने असल मनसायले उपलब्ध गराएको रकम मार्फत जिल्लालाई सहयोग गरिएको बताउनु भयो । सामाग्री हस्तान्तरण कार्यक्रममा काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामा, विजय बस्नेत लगायतको सहभागिता रहेको थियो ।