पश्चिम सेती बनाउन माग गर्दै बत्ती बालेर विरोध

0
Shares

विमल विष्ट,डोटी ।

सुदूरपश्चिम प्रदेश सहित राष्ट्रिय गौरवको आयोजना रहेको ७५० मेगावाटको पश्चिम सेती निमार्ण गर्न माग गर्दै बोलन्याथलीले आज बिहिवार डोटीको दिपायलमा रहेको सेती पुलमा नयाँ तरिकाले सरकारको बिरोध गरेको छ । बोलन्याथलीका संयोजक यादव जोशीको नेतृत्वमा रहेको टोलीले पश्चिम सेती चाडो बनाउन माग गर्दै सेतीको पुलमा ७५० वटा टुक्की बत्ती बालेर सरकारको विरोध गरेको हो ।

होटल व्यवसायी संघको समन्वयमा आयोजनामा गरिएको उक्त बिरोध कार्यक्रममा जिल्लाका सयौँ नागरिकले एकैसाथ बत्ती बालेर पश्चिम सेती बन्नु पर्ने माग गरेका थिए । उक्त बिरोध कार्यक्रममा नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र डोटी जिल्लाको बिच भागमा पर्ने तलारा क्षेत्रमा निर्माण हुने भनिएको उक्त ७५० मेगावाटको पश्चिम सेती अहिले सम्म पनि निर्माण कार्य सुरु नभएको तथा यस वर्ष पनि बजेट नपर्ने देखिएकाले आफुहरुले सरकारको ध्यान केन्द्रित गर्नका लागि बत्ती बालेर बिरोध जनाएको बोलन्याथलीका संयोजक यादव जोशी बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षेनी पश्चिम सेतीका नाममा राजनिती हुँदै आएको छ, बन्ने छाटकाट देखिदैन, पश्चिम सेती चाडो बनोस सरकारको आँखा कान खुलोस भनेर हामीले बत्ती बालेर बिरोध गरेका हौँ ।” बिगत २८ वर्षदेखि बेला बेलामा पश्चिम सेती बन्ने चर्चा हुने गरेको भएपनी कार्यान्वयन भने अझै हुन नसक्दा स्थानीयमा निरासा छाएको छ ।

सुदूरपश्चिममा निर्माण नभएका तथा काम सुरु हुँन बाँकी रहेका आयोजनाहरुको विषयमा पटक पटक सरकारलाई घच घच्याउदै आएको बेलन्याथलीले यस अघि काठमाण्डौँको माइतीघर मण्डलामा पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएपछि नागरिक स्तरबाट माइतीघर मण्डलमा ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ, हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ लगायत नारासहित कचौरा लिएर माइतीघर मण्डलमा प्रदर्शन, सुदूरपश्चिमबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्षका कार्यक्रम पनि गरिसकेको जनाएको छ ।

पश्चिम सेती कहिले बन्छ, आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला, रिभर्स माईग्रेशनको व्यवस्थापन गरौँ, पश्चिम सेती लागु गरौँ भन्ने नाराका साथ बोलन्याथलीले आज दिउस दिपायलको सेती पुलमा ७५० टुक्की बालेर सरकारको खोजी गर्दै बिरोध गरेको हो । पश्चिम सेती निर्माणका लागि दबाद दिन बोलन्याथलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट एक लाख चिठ्ठी संकलन समेत गरी पठाएको थियो । पश्चिम सेती निमार्णको लागि निकट भविष्यमै ७५० डोका सहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने कार्यक्रम तय भएको संयोजक जोशीले जानकारी दिनुभयो ।