रुपन्देहीको गैडहवा जेठ ५ सम्म सिल

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको गैडहवा गाउपालिका यही जेठ ५ गते सम्म पुर्णरुपमा सिल गरिएको छ । गैडहवा गाउपालिकामा बैशाख ३१ गते अथात बुधवार १० जनामा कोरोना संक्रमित पुष्टि भएपछि थप कोरोना संक्रमण हुन नदिन गैडहवा गाउपालिका स्तरिय बिपद ब्यस्थापन समितिको विहिवार बसेको बैठकले गैडहवा सिल गर्ने निर्णय गरेको हो ।

गैडहवा गाउपालिकाका अध्यक्ष तथा बिपद ब्यबस्थापन समितका संयोजक बच्छुलाल केवटको अध्यक्षतामा बसेको बैठकले औषधी पसल बाहेक सम्पुर्ण ब्यापार ब्यबसायहरु समेत पुर्ण रुपमा बन्द गरी गैडहवा गाउपालिका भित्र बिना अनुमती आवत जावतमा रोक लगाई गाउपालिका सिल गर्ने गराउने निर्णय गरेको छ ।

यदि कोही कसै बिना अनुमती अनधिकृत रुपमा गाउपालिका भित्र आवत जावत गरेको पाइएमा सुरक्षाकर्मीहरुको सहयोगमा आवस्यक कारर्वाही गर्ने गराउने निर्णय समेत बैठकले गरेको छ । गैडहवा गाउपालिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्र भएको र अझ थप हुने सम्भावनालाई ध्यान दिदै कोरोना भाइरसको पुर्णरुपमा रोकथाम तथा न्यूनिकरणका लागि गैडहवा गाउपालिका सिल गर्नको लागि आवस्यक ब्यबस्था मिलाउन जिल्ला सुरक्षा समिती तथा जिल्ला संकट ब्यबस्थापन केन्द्रलाई समेत सफिारिस गर्ने निर्णय गरेको छ ।

यस्तै गाउपालिकालाई सिल गरी वडा वडामा हुने बिभिन्न ब्यापार ब्यबसायलाई वडामा क्रियाशिल बिभिन्न संघसंस्था र टोल बिकास संस्थाहरुको समन्वयमा बन्द गर्न लगाउने र ब्यबसायीहरुले यदी अटेर गरेको खण्डमा प्रशासन लगाई तत्काल कार्वाही गर्ने गराउने निर्णय भएको गैडहवा गाउपालिकाका अध्यक्ष केवटले जानकारी गराउनु भएको छ । अध्यक्ष केवटले अत्यावस्यक काम पनि सामाजिक दुरी कायम गरी काम गर्न गराउन गैडहवावासीलाई आग्रह गर्नु भएको छ ।

यस्तै कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि खटिइ आएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,जनप्रतिनीधिहरु लगायतमा कोरोना संक्रमणको आशंका भएकोले निजहरुको समेत पिसिआर परिक्षण गर्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई आग्रह गर्ने र स्वाव संकलनको लागि आवस्यक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,भैरहवामा बिशेष अनुरोध गर्ने बैठकले निर्णय गरेको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले जानकारी दिनु भएको छ ।

बैठकमा उपाध्यक्ष सुभावती यादव,गैडहवा गाउपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पका शसस्त्र प्रहरी निरीक्षक गंगा बहादुर कार्की,इलाका प्रहरी कार्यालय,सूर्यपुराका हरिहर खडका,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का होमनाथ भट्टराई,दुर्गा प्रसाद आचार्य,जनता समाजबादीका मोहम्मद इस्लाम,साबिक सूर्यपुरा गा.बि.सका पुर्व गा.बि.स. अध्यक्ष सत्य नारायण पथिक,तुलसीराम यादव र नेपाल रेडक्रस सोसाइटी,लुम्बिनी उपशाखाका सभापति अल्ताफ हुसेन खाँ लगायतको उपस्थिती रहेको थियो । यो गाउपालिका सिल संगै जिल्लाका ८ वटा स्थानियतहमा पुर्ण रुपमा आवत जावत बन्द गरिएको छ ।