अग्नि पीडितलाई भूकम्प प्रभावित सरह पूनर्निर्माण गर्न सिफारिस

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङ जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका अग्नि पीडितका लागि भूकम्प प्रभावित संरचनाहरुको पुनर्निर्माण सरहको सहयोग गरिदिन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आगलागी पीडितहरुको घर पुनर्निर्माणका बारेमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२, नियमावली २०७२ र अनुदान वितरण कार्यविधि २०७३(पहिलो संशोधन २०७४) सरह पुनर्निर्माण एवम् सहयोगका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारि दिनु भयो ।

फुङ्लिङ बजारको ट्याक्सी स्टेन छेउमा २०७७ साल बैशाख १९ गते भएको आगलागीबाट पूर्ण नष्ट भएका ७ घरहरुको हकमा यो प्रावधान अनुसार सहयोग सिफारिस गरिएको प्रजिअ निरौलाले बताउँनुभयो । यस्तै उक्त आगलागीबाट नष्ट भएका पसल तथा व्यवसायीहरुलाई व्यवसायसंग सम्बन्धित पूर्व ऋण मिनाहा र सहुलियत ऋण प्रदान तथा थप राहत सहयोग समेत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि भएको छ ।

बैठकले आगलागीबाट प्रभावित भएका परिवारलाई अब उप्रान्त राहत वितरण गर्दा इच्छुक संघसंस्था वा ब्यक्तिहरुले फुङ्लिङ नगरपालिकाको पूर्व परार्मशमा नगरपालिकामा नगद वा जिन्सी जम्मा गर्ने र नगरपालिकाले आवश्यकता अनुसार निर्णय गरी राहत वितरण गर्नुपर्ने समेतत निर्णय गरेको छ । बैकठले आगलागी पीडित घर परिवारको ७ करोड ३६ लाख ८० हजार, अन्य ब्यक्तिगत धनको ६ लाख ४५ हजार र संघसंस्थाको २२ लाख ४७ हजार ७०० रुपैयाँ गरी कूल ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँको क्षति बिवरणलाई अनुमोदन पनि गरेको छ ।