कोरोना उपचारमा ४२ लाखको कोष

0
Shares

सिताराम अधिकारी,धादिङ ।

मध्य धादिङको सिद्धलेक गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ४२ लाख जम्मा भएको छ । कोरोना भाईरसबाट बच्न र राहतको कार्यक्रम ल्याउनको लागि गाउँपालिकाले खडा गरेको कोषमा ४२ लाख बराबरको रकम जम्मा भएकोे गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भएको छ ।

प्रकोप व्यवस्थापन कोषमा गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाबाट विनियोजन गरिएको र प्रदेशबाट प्राप्त रकम गरेर ४२ लाख रकम जम्मा भएको सिलवालले जानकारी दिनुभयो । कोषमा प्रदेश सरकारबाटबाट १० लाख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यापालिका सदस्य र सदस्यहरुबाट क्रमश २५ हजार, २० हजार, १५ हजार, १० हजार संकलन गरेर कोषमा रकम जम्मा गरीसकिएको छ । यसैगरी गाउँपालिकामा कार्यरत कर्मचारीबाट पाँच दिन बराबरको रकम जम्मा गरीएको छ ।

यसैगरी विपद व्यावस्थापन कोषमा रहेको ३ लाख र विभिन्न सहकारीबाट प्राप्त रकम गरी करिव ४२ लाख बराबरको रकम संकलन हुने उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले बताउनु भएको छ ।

गाउँपालिकाले कुमारी बैंकमा खाता खोली प्रकोप व्यवस्थापन कोष संचालनमा ल्याएको छ । गाउँपालिकामा रोग फैलिन नदिनका विभिन्न कार्यक्रमहरुसंचालन गरिएकोर कोरोना रोकथाम कोष स्थापना गरी पूर्व तयारी गरिएको हो। कोषको रकम विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि, राहत वितरण, उपचार खर्च तथा संक्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि खर्च गरिने निति गाउँपालिकाले बनाएको छ ।