उखु किसानको बेहाल,चिनी मिल मालामाल

0
Shares

घनश्याम बगाले ,नवलपरासी ।

पश्चिम नवलपरासीको तराई क्षेत्रका उखु किसान बाली गोडमेलका बेला आर्थिक अभावले बेहाल भएकाछन् । उखु पेलेर चिनी बनाउने मिल भने लक डाउनकै बीच चिनी बेचेर मालमाल भएको बताईन्छ ।बताईए अनुसार उखु किसानलाई चिनी मिलहरुले अघिल्लै वर्षको भुक्तानी दिएका छैनन् । यसै आर्थिक वर्ष जिल्लाका कतिपय मिलले उखु खरिद नगरे पनि कुडियाको बाग्मती सुगर मिलले किसानबाट ठूलै परिमाणमा उखु किनेको छ ।

जिल्लामा उत्पादित करिव १३ लाख क्वीन्टल उखु मध्ये यहांका विभिन्न खांडसारीले ५ लाख र बाग्मती एक्लैले करिव ८ लाख क्वीन्टल उंखु किसानबाट लिएको थियो । बाग्मतीले मात्रै यस वर्ष किसानको ४० करोड रुपैयां नतिरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादव बताउनुहुन्छ । यादवको भनाईमा अघिल्ला वर्ष लुम्विनीले नतिरेको १० करोड, ईन्दिराको ८ करोड र बाग्मतीको यसै बर्षको गरी ंखु किसानको करिव ५८ करोड चिनी मिलहरुमा बक्यौता छ ।

यता खेतमा उखु गोड्दा लाग्ने खेतालाको ज्याला, त्यसमा राख्नु पर्ने मलखाद, पानी पट्याउदा लाग्ने बोरिंग खर्च अभावले किसान अत्तालिएकाछन् । चिनी उद्योग भने उखुबाट उत्पादित चिनी, मदिरा उद्योगलाई चाहिने मोलासस कोरोनाको कहरमा पनि वेपर्वाह बेचेर बसेको किसानहरु बताउछन् । उद्योगीले नाफैका लागि करोडौको मिल खोलेको हुन् तर त्यही मिललाई घान पुर्याउने किसान बांचे नै मिलको दीर्घ जीवन हुन्छ खै मिलवालाले बुझेनन् किसानको दुखेसो छ ।

जिल्लामा लुम्विनी चिनी कारखाना, ईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्टीज , बाग्मती सुगर मिल्स लगायतका ठूला चिनी मिल भएर पनि ति मिलले किसानलाई अझै उखुको भुक्तानी नदिएर अल्झाई रहेकाछन् । जसका कारण उखु किसान मिलबाट आफ्नो पैसा नउठेर साहू र सहकारीको चर्को ब्याज लिन बाध्य हुनुपरेको बताउछन् । उखु किसानलाई उखु खरिद गरेर समयमा पैसा नदिनु यहांका मिलहरुको परम्परा नै बन्न गएको छ ।

उखु क्रसिंगका बेला खाई नखाई गरेर मिल सम्म उंखु लगेर छोडे पछि किसानले तत्काल पाउने भनेको कांटा गरेको तौल पर्ची मात्र हो । वर्ष भरीको मिहेनत त्यही पर्ची बोकेर भुक्तानी पाउने आशमा मिल गेट सम्म कति पटक पुग्नु पर्ने हो किसानका लागि गनि साध्य छैन् । मिल मालिकले उखुको भुक्तानी समयमा नदिएर झुलाउन थाले पछि किसानले प्रशासन गुहार्नु पर्ने स्थिती हरेक वर्ष जिल्लामा देखिने गरेको जानकारहरु बताउछन् ।

यस वर्ष पनि किसानले दवावका लागि राजमार्ग तथा सदरमुकाममा प्रदर्सन गर्नु पर्ने स्थिती बनिसकेको तर लकडाउनका कारण अहिले त्यो अवस्था रोकिएको छ । जसको फाईदा मिल मालिकहरुले किसानलाई दिने भुक्तानीमा लकडाउन कारक रहेको बताउदै उठाईरहेको अध्यक्ष यादव बताउनुहुन्छ । यसै सम्वन्धमा बाग्मती सुगर मिस्सका महाप्रवन्धक टंकनाथ काफ्लेले उखु किसानलाई भुक्तानीकै क्रममा मिल प्रशासन लागि रहेको बताउनु भयो ।

काफ्लेका अनुसार उद्योगले खरिद गरेको ७ दशमलव ७ लाख क्वीन्टल उखुको भुक्तानीका लागि गेटमा आएका किसानको पर्ची हेरेर भौचर बनाई बैंकमा पठाई रहेकाछौं । जुन भुक्तानी आज भोलि नै ५ करोड पुग्ने र बांकि रकम पनि किसानलाई यथा सक्दो छिटो बुझाउने काफ्लेको भनाई रहेको छ । खेतमा पसिना चुहाउने किसानले अघिल्ला वर्ष ४ सय रुपैयां प्रति क्वीन्टलका दरले उखु बेच्दै आएका थिए ।

गत वर्ष भने सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ तोके पछि किसानले केही राहत महसुस गरेकाछन् । तोकिएको समर्थन मुल्य ४ सय ७१ रुपैयां मिलले र संगै ६५ रुपैयां सरकारले किसानलाई अनुदान स्वरुप थपेर दिने प्रावधान रहेको छ । तर उखुको भुक्तानी पारा उही पुरानै उधारो र अल्मल्याउने खालको रहिरहदा किसानहरु वर्षेनी समस्यामा परेको बताउछन् ।

यही बीच उखुको भुक्तानी नपाएर समस्या भोगिरहेका किसानलाई अहिले दोहोरो मार परेको छ । किसानलाई असार अगाडिनै उखु गोडमेल गरी उखुमा मल हालि सक्नु पर्नेछ, तर सहकारीमा मल अभाव हुदा किसान घण्टौं लाईनमा फसेको अध्यक्ष यादव बताउनुहुन्छ । जसका कारण कतिपय किसानले परम्परागत उखु खेतीको साटो अर्को वर्ष देखि धान, केरा लगायत अर्कै नगदे बालीको विकल्प रोजेको बताए ।

कारण यही हुन सक्छ अघिल्ला वर्ष यहांको करिव ७ हजार हेक्टरमा हुदै आएको उखु खेती यस वर्ष करिव साढे ५ हजारमा खुम्चिएको बताईन्छ । विज्ञका अनुसार देशलाई चिनीमा आत्मनिर्भर बनाउने राज्यको सोच र ठूला पूंजीमा स्थापित चिनीमिलको दीर्घ भविष्य जोगाई राख्न किसानको मर्का बुझ्नु आवस्यक छ ।

उत्तर हिमाल बाट बग्दै आउने नारायणी नदीले महाभारत र चुरेबाट निस्कने पातपतिंगर ल्याएर वर्षेनी सिंचित हुने तराईको यो भूमी उखुका लागि उर्वर छ ।
किसानहरुले जिल्लाका त्रिवेणी, सुस्ता, प्रतापपुर, गुठी प्रसौनी, बैदौली, सोमनी लगायतको हजारौं हेक्टर जमिनमा वर्षेनी उखु खेती गर्दै आएकाछन् ।