तीनपाने भञ्ज्याङमा हेल्थ डेस्क

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

कोरोना भाइरसको रोकथाम तथा यसको जोखिमवाट बच्न आजवाट गोदावरी नगरपालिका वडा नं ५ मा पर्ने तिलेश्वर र वडा नं ६ मा पर्ने तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुवात गरेको छ ।कोरोनाको संक्रमित बढ्दै जाँदा यसको रोकथामका लागि नगरपालिकाको दक्षिणी भेगको नाकाको रुपमा पर्ने यी स्थानहरुमा हेल्थ डेस्कको शुरुवात गरेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उक्त दुई नाकाबाट नगरक्षेत्र प्रवेश गर्ने व्यक्तिहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।

वडा नं ६ स्थित तिनपाने भञ्ज्याङ कान्तिलोकपथ अन्तर्गत पर्ने र यहाँबाट मानिसहरु प्रवेश गरिरहेको सूचनाको आधारमा सो स्थानमा हेल्थ डेस्कको स्थापना गरिएको हो–उहाँले भन्नुभयो । उक्त हेल्थ डेस्क स्थापनाका लागि वडा नं ५ का वडा अध्यक्ष मिलन सिल्वाल र वडा नं ६ का वडा अध्यक्ष विष्णुमान महर्जनले समन्वयकारी भुमिका खेलेका थिए । हेल्थ डेस्क सञ्चालनमा नेपाली सेना र नेपाल प्रहरीको सहभागितामा रहेको छ ।

यसै गरी नगरपालिकाले नगरवासीलाई सम्बोधन गर्दै वैशाख ३१ गते प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट सुरक्षित रहन नेपाल सरकारबाट लकडाउन घोषणा भई निरन्तरता रहेको व्यहोरा सवैलाई जानकारी नै छ ।

कोरोना भाइरस मानिसको भीड–भाड र सम्पर्कवाट हुने भएकोले भीड–भाड कम गर्न र विदेशबाट वा अन्य जिल्लावाट यस नगरपालिकाको कुनै पनि टोल/बस्तीमा नयाँ व्यक्ति आएको वा कोही घर बहालमा बस्ने व्यक्तिको अनिवार्य रुपमा सम्बन्धित वडा कार्यलयमा जानकारी गराई अस्पतालमा चेकजाँच गरी सुरक्षित रुपमा क्वारेन्टाईनमा राख्न अनुरोध गरिन्छ । अन्यथा कुनै लापरबाही गरी लुकाई छिपाई कोही व्यक्ति राखेमा सम्पूर्ण जिम्मेवारी घरधनी हुनुको साथै स्वास्थ्य ऐन बमोजिम कारवाही हुने जानकारी गरिन्छ ।’