बोर्डिङलाई ‘अवसर’ बन्दै कोरोना त्रास

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

कोरोना त्रासको विश्वव्यापी विषम परिस्थितिलाई मकवानपुरका केही संस्थागत विद्यालयले ‘मौका’ को रुपमा लिन थालेको पाइएको छ । यो अबस्थामा केही विद्यालयले आफूखुसी पुस्तकको पब्लिकेसन परिवर्तन गर्ने, पब्लिकेसनबाट सीधै विद्यालयमा पुस्तक ल्याएर आफूखुसी दर कायम गरी बिक्रीबितरण गर्ने गरेका हुन् । यसबारे हेटौंडा उपमहानगरपालिकाले ती विद्यालयलाई सचेत गराएको छ ।

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा अधिकृत सरस्वती कोइरालाले पत्र लेख्दै उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई एकसाथ पुस्तक बितरण गर्न, संस्थागत विद्यालयहरुले पुस्तक लागु गर्दा यस वर्ष पुस्तक परिवर्तन नगरी साबिक वर्षकै पुस्तक प्रयोग गर्न र कुनै पनि विद्यालयले विद्यालयबाट पुस्तक बिक्री नगर्न अनुरोध गर्नुभएको छ ।

नगर मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको पुस्तक व्यबसायी तथा सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको स्पष्ट पारिएको पत्रमा उक्त निर्णय पालना गर्न भनिएको छ । अधिकांश निजी विद्यालयले प्रत्येक वर्ष पाठ्यक्रम परिवर्तन गर्ने गरेको पाइन्छ । विद्यालयले पुस्तक प्रकाशकसँग उनीहरुको पुस्तक पठाइदिने भन्दै सीधै पब्लिकेसन र पुस्तक पसलबाट गरी दोहोरो कमिसन लिने गरेका छन् ।

एकातिर महंगो पुस्तक, त्यसमाथि थरिथरिका पब्लिकेसनको पुस्तक किन्नुपर्ने झन्झटले यहाँका अभिभावकलाई वर्षेनी वाक्क बनाउँदै आएको छ । विद्यालयले भनेकै पसलबाट पुस्तक किन्न बाध्य भएका छन् अभिभावक । विद्यालय सञ्चालकले कमिसनको चक्करमा थरिथरिका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट पुस्तक किन्नुपर्ने तर छुट नदिने, अन्यत्र पुस्तक किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो छ ।

‘निजी विद्यालय सञ्चालक र पुस्तक पब्लिकेसनको कमिसनको सिकार अभिभावक बनिरहेको देखिन्छ । निजी विद्यालयहरु वर्षेनी पुस्तक फेर्छन् । ‘विद्यालयले आफूले तोकेको पुस्तक पसलमै गएर किन्न हामीलाई बाध्य पार्ने गरेका छन्,’ स्थानीय अभिभावकले वर्षेनी गर्ने गुनासो हो यो । अभिभावक भन्छन्–मनोमानीढंगले पुस्तक थमाउँछन् ।

जिल्लाका अधिकांश विद्यालयले पुस्तक बेच्न दिएबापत् सम्बन्धित पसलबाट २० प्रतिशतसम्म कमिसन लिने गरेको पाइएको छ । विद्यालयले कक्षागत विद्यार्थीको पुस्तकको मूल्य जोडेर अग्रिमरुपमा रकम लिने गरेको दाबी गरिन्छ । विद्यालयलाई १५ देखि २० प्रतिशतसम्म कमिसन दिनुपर्ने व्यबसायीको तर्क छ ।