लकडाउनले रोक्यो बुद्धमूर्ति

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ को गुम्बाडाँडास्थित पर्यटकीय पार्कमा बुद्ध जयन्तीको अवसरमा अनावरण गर्ने तयारीमा रहेको २५ फिट अग्लो ढुंगाको मूर्ति कोरोना सन्त्रासका कारण जारी लकडाउनका कारण प्रतिस्थापन हुन सकेन । ललितपुरको बालकुमारीमा मूर्तिकार अमर शाक्यले ढुंगाको मूर्ति कुँद्ने काम अन्तिम चरणमा पु¥याए पनि लकडाउनका कारण मूर्ति ल्याएर अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण समिति संयोजक कमलचन्द्र सुमनले बताउनुभयो ।

काठमाडौंका समाजसेवीहरुले मूर्ति निर्माणका लागि एक करोड ३० लाख जुटाएका थिए । बागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको छ । १८ नम्बर वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको छ । लकडाउन खुलेपछि मूर्ति ल्याएर प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।
हर्नामाडीस्थित ‘कलागाउँ’ का रुपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको २५ फिट अग्लो ढुंगाबाट निर्माण गरी स्थापना गरिने मूर्तिका लागि काम अगाडि बढेको हो ।

मूर्ति स्थापना समिति संयोजक हेटौंडाका समाजसेवी सुमनले मूर्ति निर्माणका लागि कलाकार शाक्यसँग ४५ लाख रुपियाँमा सम्झौता भएको बताउनुभयो । उहाँले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताउनुभयो । मूर्ति निर्माण समितिले काठमाडौंको बौद्धमा गरेको एक कार्यक्रममा एकै दिन १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको थियो । मूर्तिका लागि आवश्यक ढुंगा कुलेखानी र दक्षिणकाली जंगल क्षेत्रबाट लगिएको मूर्तिकारले जनाएका छन् ।

गत वर्षकै बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च अनुमान गरिएको सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल र अन्य संरचना बन्नेछन् । सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्धेश्य र लागत आदिबारे प्रकाश पार्नुभएको छ ।

निर्माण समिति सचिव दुर्गामान शाक्यले २०७४ माघमा भएको छलफलले मूर्ति निर्माणको प्रयास थालेको भन्दै आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अबस्था मूर्ति स्थापनापछि न्यून हुने विश्वास व्यक्त गर्नुभयो । गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमी पूर्व दक्षिणमा पर्दछ, जहाँ पछिल्लो समय बिदाका दिन आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको छ । गुम्बाडाँडा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा मानिसलाई चितवन पठाइएको थियो । २०४२ सालमा उक्त क्षेत्रमा वृक्षरोपण भयो । संरचनागतरुपमा सरकारी जमिन देखिएकाले २०५४ सालमा गुम्बाको स्थापना भएको रेकर्ड छ ।

सल्लाघारी भनिने ठाउँमा गुम्बा स्थापनापछि ‘गुम्बाडाँडा’ नामाकरण भएको हो । गुम्बा स्थापनापछि सामाजिकरुपमा चहलपहल हुँदै गर्दा सुरुवाती हिसाबमा मंगलसिं लामाको नेतृत्वमा २०६१÷६२ ताका उक्त क्षेत्र स्थापना गरिएको हो । २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरु त्यहाँ छन् । नेपाल र अन्य पाँच वटा देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको छ । अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालासँगै गुम्बाडाँडाको हालको रुपसम्म ल्याउने श्रेय कलाकार लक्ष्मण भुजेल र डा. तारालाल श्रेष्ठ, प्राज्ञ ओम खत्रीको परिकल्पना छ । हाल पिकनिक क्षेत्र र मूर्तिकला सम्बन्धि ज्ञान लिन जसलाई इच्छा छ, त्यहाँ पुगेका हुन्छन् ।

धरान–चतरा मार्गनजिक उक्त क्षेत्रमा पर्यटनको सम्भावनाका स्रोत धेरै छन् । हेटौंडामा मानिसको चाप बढ्दो छ । केवल १७ किलोमिटर परको क्षेत्र भएकाले दुरीका हिसाबबाट पनि एकान्त गुम्बाडाँडा पुगिसकेपछि त्यहाँको दृष्य आफैंमा मनमोहक छन् । ४.२५ हेक्टर क्षेत्रमा प्रतिष्ठान छ । यसको क्षेत्र बढाउन आवश्यक समन्वय गरिएको छ ।