करेन्ट लागेर चेपाङ युवतीको मृत्यु

0
Shares

न्युज अफ नेपाल,धादिङ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा करेन्ट एक जना चेपाङ युवतीको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० स्थित जयपुरीमा मंगलबार मकै गोड्ने क्रममा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा, १६ वर्षिय विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बिहान शिरडाडाबाट जयपुरीमा मकै गोड्न आएकी चेपाङलाई करेन्ट लागेपछि स्थानीयहरुले उपचारका लागि गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

एक सात अघि आएको हावा हुरीका कारण विद्युत पोल ढलेको स्थानीयहरुले विद्युत प्राधिकरणलाई जानकारी गराएका थिए । उक्त पोल सिधा बनाउन वा विद्युत सेवा बन्द दुबै काम प्राधिकरणले नगर्दा उक्त घटना भएको वडा अध्यक्ष अम्बर बहादुर गुरुङले बताउनुभयो ।

घटना हुनुमा कमजोरी भएको स्वीकार गर्दै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय धादिङका ध्रुव भण्डारीले मृतक परिवारलाई प्राधिकरणको नियमबमोजिम सहयोग गर्ने बताउनुभएको छ । ढलेको पोल मर्मत गर्न जाने योजना बनाइएको बेला घटना भएको भण्डारीको भनाइ छ ।