सीमा समस्या न्यायपूर्ण ढङ्गले समाधान हुने परिषद्को विश्वास

0
Shares

काठमाडौं ।

पूर्वराष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालले नेपाल भारत सीमा समस्या समाधान गर्नु दुवै देशका लागि आवश्यक र हितकर भएकाले छिटो राजनीतिक र कूटनीतिकस्तरमा वार्ता गरी विवेकसम्मत किसिमले न्यायपूर्ण निकास निकालिने विश्वास व्यक्त गरेको छ ।

पूर्वकर्मचारी सेवा परिषद् नेपाल, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल पूर्व प्रहरी सगठन, नेपाल पूर्व सशस्त्र प्रहरी संघ र राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघका तर्फबाट प्रेस विज्ञप्ति जारी गरी अध्यक्षमण्डलका अध्यक्ष माधवप्रसाद घिमिरेले भारत सरकारले आलटाल गरी वार्ता गर्ने कुरा लम्ब्याउँदै आएकामा गत शुक्रबार नेपालको भूभाग लिपुलेकमा अतिक्रमण गरी एकपक्षीयरूपमा सडक उद्घाटन गरेको कुराले सबै नेपालीसहित परिषद्का सदस्यअझ बढी आहत भएको जनाउनुभएको छ ।

दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि नै सौहार्दरूपमा अविच्छिन्न चलिआएको तथा नागरिकबीच एकार्काप्रति मैत्रीपूर्ण व्यवहार रहेको र यो कालान्तरसम्म रहोस् भन्ने दुई देशका जनताले चाहेको उल्लेख गर्दै विज्ञप्तिमा भारत सरकारले सन् २०१९ नोभेम्बरमा एकलौटि रूपमा राजनीतिक नक्शा प्रकाशन गरी नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको सिमानाभित्र पारी सार्वजनिक गर्नु दुवै देशबीच आदिकालदेखि चलिआएको सम्बन्धप्रति भारतको एकोहोरो रूपमा कडा प्रहार भएको पनि जनाइएको छ ।