नेकपाको आज बस्ने भनिएको बैठक स्थगित


न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि नेकपा कार्यालय धुम्बाराहीमा बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो।

स्थायी कमिटीका कतिपय सदस्यहरूको कोरोनाभाइरस कोभिड– १९ परीक्षण गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट गर्न बाँकी रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।

संसद् सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको मात्र पीसीआर टेष्ट गरिएको छ । भिम रावलको सुरक्षा गार्डलाई समेत सक्रमण देखिएको र सांसद् नरहेका सदस्यहरूको टेष्ट गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको उनले बताए ।

सांसदहरूको भने कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरिएको थियो । अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यसअघि बोलाइएको बैठक स्थगित गरिएको थियो ।