प्रदेश राजधानीको सिमाना बन्द


हेटाैंडा, (नेस)

छिमेकी जिल्लामा कोरोनाको संक्रमण बृद्धि हुँदै गएपछि बाग्मती प्रदेशको राजधानी हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बारासँग सिमाना जोडिएको चुरियामाई क्षेत्रहुँदै हेटौंडा आवत–जावत बन्द गरिएको छ ।

हेटौंडामा बसेको कमान्ड पोस्ट बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै दक्षिणी नाकामा प्रहरी पोस्ट खडा गर्ने र हेटौंडा आउने सवारीसाधनको कडा निगरानी गर्ने भएको हो ।

बैठकले विहान ९ बजेसम्म खाद्यान्न तथा ग्यास पसलमात्र खोल्न पाउने निर्णय गरेको छ भने औषधि तथा भेटेरिनरी, कृषि औषधि पसललाई दिनभर खोल्न दिने निर्णय गरेको छ ।

बैठकले जेठ १ गतेबाट माछामासु तथा तरकारी बजार पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । तरकारीका लागि सहकारीमार्फत कुनै स्थानबाट वितरण गर्ने नीति अवलम्बन गर्ने निर्णय कमान्ड पोस्टले गरेको हो ।

बैठकले तराईका जिल्लाबाट हेटौंडा छिर्ने अन्य नाकामा समेत कडाइ गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण बढेसँगै हेटौंडामा सतर्कता अपनाइएको छ ।

मकवानपुरसँग नजिकको जिल्ला पर्सामा देशभरमा सबभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा पनि सतर्कता अपनाइएको बैठकमा सहभागी हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो ।

विशेष गरी हेटौंडाको चुरेक्षेत्रबाट जंगलबाट तराईका जिल्लाका कामदार आएकाले उनीहरूलाई रोक्न उक्त क्षेत्रका वडाध्यक्ष र स्थानीयको समिति बनाएर कामदार आउने क्रमलाई रोकिने मेयर महतले बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले कोरोना संक्रमित बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाबाट तरकारी, फलफूूल, मानिस, माछामासु, कामदार तथा श्रमिक नल्याउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । उक्त निर्णय गर्दा बारा र पर्सालाई बढी लक्षित गरिएको छ ।