भारतीय सुरक्षाकर्मी हटाउन संसदीय समितिको निर्देशन


नेपाल समाचाचरपत्र, काठमाडौं

भारतले नेपालको भूमि अतिक्रमण गरी नेपालको कालापानी क्षेत्रमा राखिएका भारतीय सुरक्षाकर्मी तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन हो ।
समितिको बैठकले भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानीलगायत क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्चतहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले कालापानीमा नेपाली सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न पनि निर्देशन दिएको छ । भारतले तावाघाटदेखि दार्चुला जिल्लाको लिपुलेकसम्म सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुन र दुई देशबीच विद्यमान सम्झौता र सहमति तथा असल छिमेकसम्बन्धी मान्यता र नीतिविपरीत रहेको निष्कर्ष निकालेको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानीलगायत सीमा समस्याको विषयमा छलफल गर्नका लागि भारतसँग निरन्तर आग्रह गरिरहेको भए पनि भारत तयार नभएको जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो– ‘तीनपटक कूटनीतिक नोट पठाएकोमा दुईपटक प्रस्तावित मितिमा वार्ता हुन सकेन, पछिल्लो पत्रको जवाफमा कोरोना महामारीपछि वार्ता गर्न सकिने प्रतिक्रिया आएको छ, तर नेपालले कोरोना महामारी सकिने बेलासम्म पर्खन सक्दैन ।’

भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्र आफ्नो नक्सामा समेटेपछि संसदीय समितिहरूले नेपाली भूमि समेटेर नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएका थिए । तर, सरकारले उक्त निर्णय अझै कार्यान्वयन गरेको छैन ।