नेपाली भूमि अतिक्रमणसँगै नेकपाकोे विवाद ओझेलमा


काठमाडौं, (नेस)

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले बहुप्रतीक्षित स्थायी समितिको बैठक बोलाएको छ । पार्टीले वैशाख २५ गते बोलाएको बैठक स्थगित गरे पनि पुनः स्थायी समितिको बैठक बोलाएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै २० स्थायी समितिमा सदस्यहरूले स्थायी समितिको बैठक बोलाउन लिखितरूपमा माग गरेका थिए । पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार बुधबारका लागि स्थायी समितिको बैठक बोलाइएको हो ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाललले पार्टीको स्थायी समिति बैठकमा भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय नै मुख्य एजेन्डा हुने बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको विवादका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री िनवास बालुवाटारमा बस्दै आएको स्थायी समितिको बैठक यसपटक भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यसअघि अध्यक्ष ओलीले बहुमतको आधारमा आफूलाई पेलेर अगाडि बढन खोजेको भन्दै स्थायी समितिको बैठक बोलाउन आनाकानी गर्नुभएको थियो । तर, पार्टीभित्र चर्का दबाब परेपछि अन्ततः अध्यक्ष ओली स्थायी समिति बैठक बोलाउन सहमति हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि पार्टीभित्र स्थायी समिति बैठकको माग भएको थियो । बैठकको माग गर्दै २० स्थायी समिति सदस्यले अधयक्षद्वयलाई पत्र नै बुझाएका थिए । त्यसपछि वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले विवाद झिकेपछि बैठक स्थगित भएको थियो ।