नेपाली भूमि मिचेर सडक बनाएको मलाई थाहा छैन: प्रधानमन्त्री

हामीलाई थाहा नहुने भन्ने कुरै आउँदैन: परराष्ट्रमन्त्री


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताउनुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सोबारे आफूलाई कसैले रिपोेर्टिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमा गर्नुभएको हो ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी भएको बताउनुभएको थियो । तर, प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई थाहा नभएको बताउनुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गर्नुभएको थियो । यसबारे संसद् र संसदीय समितिहरूमा भएको छलफलदेखि दलहरूले लिएको अडानबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले झन्डै आधा घन्टा यसबारे बोल्नुभएको थियो । उहाँले सुगौली सन्धिअनुसार काली नदीपूर्वको भू–भाग नेपालको भएको बताउनुभयो ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्वसूचना आफूसँग नभएको उल्लेख गर्दै पत्रपत्रिका हेरर थाहा पाएको बताउनुभयो । बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा जेठ सो कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

त्यसै गरी बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारूपमा प्रस्तुत हुनुभएको बुझिएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिनुभएको छ ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकमा लकडाउनबारे कुनै एजेन्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिनुभएको बुझिएको छ ।