अनलाइन कक्षाको शुल्क नलिन आग्रह


ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षामा कुनै शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समयमा अनलाइनबाट कक्षा सञ्चालन गरेका केही विद्यालयले शुल्क उठाउन थालेपछि सरकारले सो आग्रह गरेको हो ।

निजी विद्यालयले घरमा बसेका आफ्ना विद्यार्थीलाई पढ्ने वातावरण बनाउन भन्दै करिब दुई सातादेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालय सञ्चालकले कुनै पनि शुल्क नलिने उल्लेख गर्दै अनलाइन कक्षा शुरू गरेको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षा शुरू गरे पनि त्यसको शुल्क नलिन आग्रह गर्नुभयो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले लकडाउन सकेर विद्यालय नखुलेसम्म कुनै प्रकारका शुल्क नलिने र विद्यालय शुरू भएपछि पुनः पठनपाठन शुरू गर्ने तयारीसहित अनलाइन कक्षा सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘विद्यार्थीको मन बहलाउनका लागि मात्र कक्षा सञ्चालन गरेका हौं ।’ प्याब्सनले त्यसो भनिरहँदा केही विद्यालयले भने ५ घन्टासम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।

अधिकांश निजी विद्यालयले करिब दुई घन्टासम्म मात्र पढाउँदै आएको जनाएको छ । हिसानका महासचिवसमेत रहेका जेभियर्स स्कुलका प्रमुख कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले विद्यालय नखुलुन्जेलसम्म बानी पार्नका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘रुटिन बनाएर दिनमा दुई वा तीनवटा कक्षा सञ्चालन गरिरहेका छौं ।’

त्यसै गरी ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘शिक्षकलाई समेत तालिम दिएर केही समयका लागि कक्षा सञ्चालन गरिरहेका छौं ।’

उहाँले यस्तो अवस्थामा शुल्क नलिइकनै कक्षा सञ्चालन गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘अहिले त करिब आफ्ना विद्यार्थीलाई लकडाउनमा पनि प्रविधिसँग जोडेर पढ्ने बानी बसाल्न अनलाइन कक्षा सञ्चालन गरेका हौं ।’

प्याब्सन अध्यक्ष पुरी अध्यक्ष रहेको विराटनगरको एभरेस्ट स्कुलले पनि अनलाइन कक्षा सञ्चालन गरेको छ । लकडाउनको समयमा विद्यालयलाई हाजिर गराउने वातावरण कायम गर्न केही समयका लागि अनलाइनबाट कक्षा लिन थालेको विद्यालयले जनाएको छ ।

प्याब्सनका अनुसार करिब ४० प्रतिशत विद्यार्थीले अनलाइन कक्षा लिने गरेको प्रारम्भिक तथ्यांक छ । प्याब्सनका उपाध्यक्ष टीआर ढकालले विद्यार्थीलाई पाठ्यक्रमको बारेमा जानकारी दिन र पढ्ने बानी बसाल्न अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षालाई व्यवस्थितरूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको समितिले दिएको प्रतिवेदनको आधारमा काम शुरू गर्ने बताउनुभयो ।

सो समितिले अहिले विकल्पसहित कसरी पढाउने भन्ने विषयमा अध्ययन गरिरहेको छ । प्रवक्ता शर्माले अनलाइन कक्षा पढाइको माध्यम नभई विद्यार्थीलाई प्रविधिसँग नजिक बनाउने मात्र भएको बताउनुभयो । अधिकांश विद्यालयले गुगल जुमएप डाउनलोड गरी कक्षा सञ्चालन गरिरहेको छ ।

प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले शहरोन्मुख अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । रेडियन्ट स्कुलका अध्यक्ष ढुंगानाले आफ्ना विद्यार्थीका लागि सूचना र प्रविधिमा केही नजिक बनाउन कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।