सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य चिन्ता


दीपक रिजाल, काठमाडाैं ।

सीमानाका तथा भन्सारमा खटिएको नेपाल प्रहरीलाई पीपीई लगाउन लगाउने, सुरक्षित हुन केन्द्रबाट दिएको निर्देशन पालना गराउने र शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको परीक्षण गर्ने काम भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरज शाहीले मंगलबार नेपाल समचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘भारततिरबाट संक्रमित आउने र उनीहरूको सन्निकटाले रोग सर्न सक्ने कुरामा हामी सजक छौं ।’

अहिले स्थानीयस्तरमा खटिने कमान्डरलाई हरेक अधिकृत जवानको अवस्था बुझेर सोहीअनुरूपको स्वास्थ्य परीक्षण गर्न लगाउन निर्देशन दिएको पनि डीआईजी शाहीले जानकारी दिनुभयो ।

संवेदनशील क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित राख्न केन्द्रले दिएको निर्देशन पालना गर्न र पालना नगरे उनीहरूलाई सचेत गराउनसमेत प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतको कोरोना परीक्षण भइरहेको पाइएको छ ।

भारतमा कोरोना संक्रमणको संख्या अत्यधिक बढेको र भारतबाट लुकेर नेपाल प्रवेश गरेका नेपालीमा कोरोना संक्रमण देखिएपछि दुवै संगठनले कोरोना संक्रमणको परीक्षणलाई तीव्रता दिएको पाइएको छ ।

सरकारले अहिले नेपाल, भारत र चीनको सीमा क्षेत्रमा २२ हजार ५ सय सशस्त्र प्रहरी खटाइएको छ भने नेपाल प्रहरी पनि १५ हजारको हाराहारीमा सीमानाकाको सुरक्षामा छ ।

सशस्त्र प्रहरी बलले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले तय गरेका उपायहरू अवलम्बन गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई नियन्त्रणमा लिने सुरक्षा फौजको तत्कालै क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

‘हामीले शंका लागेका सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतलाई क्वारेन्टाइनमा राख्ने र कोरोनाको लक्षण देखिनासाथ कोरोना टेस्ट गराउने गरेका छौं ।’ –प्रवक्ता श्रेष्ठले नेपाल समाचारपत्रसंँग भन्नुभयो ।

अहिले सीमानाकामा खटिएका सशस्त्र प्रहरी बलका फौजको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आफ्नै अस्पतालका चिकित्सकको टोली अहिले सीमानाकामा परिचालन भएको र जनशक्ति अभाव भएको ठाउँमा स्थानीय निकायसँग समन्वय गरेर स्थानीय चिकित्सको टोलीसमेत परिचालन गरेको जानकारी उहाँले दिनुभयो ।