सिमाबाट बिचौलियाहरुले रकम लिएर मानिसहरुको वारपार

0
Shares

सरोज यादव , विराटनगर।

लकडाउनको समयमा बन्द रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाबाट बिचौलियाहरुले रकम लिएर मानिसहरुलाई वारपार गराउने गरेको खुलासा भएको छ । रकम लिएर सिमा कटाउनेक्रममा विराटनगरमा दुईजना बिचौलिया समातिएपछि यस्तो खुलासा भएको हो । रकम लिएर ४ जना भारतीयलाई सिमा कटाउन लाग्दा सिमाक्षेत्रमा खटिएका प्रहरीले विराटनगर–१८ बुधनगरको दशगजाक्षेत्रबाट ४ जना भारतीयसँगै दुईजना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका २ जना विराटनगर–६ सरौचियाका ३८ वर्षीय मुबारक हुसैन र सोही ठाउँका २६ वर्षीय अख्तर आलम रहेका छन् । उनीहरुले सुनसरी–मोरङ औद्योगिक करिडोरमा काम गर्ने ४ जना भारतीय मजदुरलाई सिमा कटाईदिने सर्तमा प्रतिव्यक्ति भारु एक हजारका दरले रकम लिएका थिए ।

सिमा कटाउनै लाग्दा स्थानीयवासीको सहयोगमा प्रहरीले भारतीय मजदुरसहित बिचौलियालाई समेत नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका दुई जनाविरुद्ध अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

सिमा कटाउन लागिएका व्यक्तिहरु भारत राजस्थानबाट कामगर्न अएका भारतीय मजदुरहरु हुन । उनिहरु सुनसरी मोरङ औद्योगिक करीडोरमा रहेको कमला स्टिलमा काम गर्दै आएका थिए । एक हजार भारुमा सिमा कटाईदिने कुराकानी भएपछि आफुहरु मंगलबार बिहान विराटनगर हुँदै सिमाक्षेत्र आइपुगेको मजदुरहरुले बताएका छन । मंगलबार मध्यराति नै भारततर्फबाट १५ जना नेपाली युवाहरु समेत नेपाल प्रवेश गरेका छन ।

रातको १ बजे सिमा नाका हुँदै नेपाल प्रवेश गर्नेक्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लियो र होल्ड गरेर राख्यो । होल्ड गरिएकाहरुमा ११ जना दिल्लीबाट र ४ जना बिहारमा रोजगारीबाट फर्किएका हुन । लकडाउन शुरु भएयता अन्र्तराष्ट्रिय सिमा बन्द भएपछि केहिब्यक्ती गिरोह बनाएर दुईदेशका नागरीक वारपार गराउन सक्रिय रहेको र उनिहरुले मौका हेरेर मानिसहरुलाई सिमा कटाउने गरेको स्थानिय श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीहरुको पातलो उपस्थितिको मौका छोपेर रातीराती समेत मानिसहरुलाई सिमा वारपार गराउने गरिएको उहाँको भनाई छ । नेपालतथा भारत दुवैदेशको बोर्डर सिल गरिएपनि सिमामा अझपनि अवांछित गतिविधि गर्नेहरु सक्रिय रहेको स्थानियले बताएका छन ।