सडक सजाउँदै काठमाडौँ महानगर, सरसफाईमा सक्रिय नगर प्रहरी

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

विभिन्न खाले माग राख्दै माइतिघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गथ्र्यो । तर, मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए । तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान जुटेका थिए ।

लकडाउन सुरु भएसँगै कोरोना संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कार्य गर्दै आएको काठमाडौँ महानगरपालिकाले थालेको यो अभियानमा मंगलबार करीब ४० को हाराहारीमा नगर प्रहरी सामाजिक दुरी कायम गर्दै सरसफाई अभियानमा सक्रिय भए ।

लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौदर्य विगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, मरेका बोट–विरुवा उखेल्ने जस्ता कामको थालनी गरेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो । ‘पहिलो चरणमा अरनीको राजमार्ग अन्तरगत माइतीघर मण्डलादेखि तीनकुनेसम्मको क्षेत्रमा पर्ने सडकको दायाँ–बायाँ किनारा र बीचमा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने, झार उखेल्ने र सडकको सौर्दयलाई कायम राख्ने योजनाका साथ अघि बढेका छौँ,’ सापकोटाले भन्नुभयो, ‘अहिले लकडाउन केही खुकुलो भएसँगै गाडीहरुले लतारेका बोट–विरुवाका हाँगा छाँटकाँट गर्ने, सुकेका हाँगाहरु झिक्ने, मरेका विरुवा उखेल्नेलगायतका काम गरेका छौँ ।’

सापकोटाले लकडाउनको अवधिमा सडकहरु बेवारिसे छाड्दा सहरी सौदर्यता नै विग्रिने भएकाले सरसफाईको कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । ‘महानगरपालिकाले आफ्नो क्षेत्र भित्र परेका यी स्थानको सरसफाई थालेको हो,’ उहाँले भन्नुभयो, ‘अबका दुई–तीन दिन भित्र तीनकुनेसम्म क्लीयर गर्ने योजना छ ।’

उहाँले पहिलो दिनमै छाँटकाँट गरेका हाँगा–विगा र भुँईको झार उखेल्दा निस्किएको नौँ टिपर फोहोर टेकु पठाएको जानकारी दिनुभयो । ‘आज मात्रै ४० को हाराहारीमा नगरप्रहरीसहितको टोली खटिएको थियो,’ उहाँले भन्नुभयो, ‘बगैँचामा काम गर्ने केही साथीहरुले हाम्रा प्रहरीहरुलाई सिकाउनु भयो । उहाँहरुको निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै उहाँहरुले काम गर्नुभयो ।’

आइल्याण्डमा समेत बिरुवा बढेर सहरी सुन्दरता बिग्रिएका कारण सहरी सौदर्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको सापकोटाले जानकारी दिनुभयो ।दिनुभयो । ‘यस अघि सहरलाई नै कुरुप बनाउने गरी जथाभारी रुपमा राखिएका १३ हजार भन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड हटाइसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले ९ मिटरमाथिको सडकका सबै होर्डिङबोर्ड क्लीयर गरेका छौँ । अब साना सडकमा छिर्छौ ।’