पर्वतको महाशिला गाउँपालिकामा बाँझो जमिनमा झाडी फाँडेर कफी र केरा खेती

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत।

जिल्लाको महाशिला गाउँपालिकाले कोरोनाको महामारीबाट प्रभावित श्रमशक्तिलाई उत्पादनमा लगाउने नयाँ कार्यक्रम अघि बढाएको छ । बेरोजगार बन्न पुगेकाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महाशिला –३ मा बाँझो जमिनमा झाँडी फाँडेर कफी र केरा खेती शुरु गरिएको हो । महाशिला कृषि क्षेत्रको लागि उपयुक्त्त क्षेत्र मानिन्छ ।

पालिकाका सबै वडामा कफी लगायत तरकारीबालीको ब्यबसायिक खेती सुरू भएकाले यसलाई बिस्तार गरि कोरोनाबाट बिस्थापित भएका मजदुरलाई रोजगारी दिन नयाँ कार्यक्रम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताउनुभयो । बालाकोटमा ५० रोपनी जग्गा भाडामा लिएर कफी उत्पादन सुरू गर्ने योजना रहेको छ ।

आगामी बर्ष जग्गाको दायरा बढाएर गाउँमा बाँझो रहेको २०० रोपनी जग्गा भाडामा लिई अन्य कृषिखेती समेत गरिने उद्देश्य पनि राखिएको छ । महाशिला वडा नं ३ का वडा अध्यक्ष रोशक गुरूङका अनुसार अहिले देश कोरोना भाईरसका कारण लकडाउनको चपेटामा परिरहेका बेला लकडाउनको सदुपयोग गरि गाउँका युबाहरूले बाँझो जमिनमा झाडी फडानी गरिरहेका छन । सिचाँईको ब्यबस्थापन र कफी तथा केराका बिरुवा रोप्न खाडल खन्ने काममा कस्सिएका छन् ।

वडा अध्यक्ष गुरूङ वडाका युवाहरूलाई बिदेश जानबाट रोक्ने मुख्य उद्येश्य रहेको बताउनुहुन्छ । यस बर्ष जेष्ठ अन्तिममा करिब ५ हजार कफीका बिरुवा रोपिने र कफीको छहारीको लागि ब्याबसायिक रूपमै २५ सय केराका बिरूवा पनि रोप्ने वडाका लेखा सहायक बिमल रिजालले जनाउनुभयो । वडाको संयोजनमा अहिले अन्य तरकारी खेतीहरू पनि गरिएको छ ।

पछिल्लो केही बर्ष अघि बाट व्यवसायिक रूपमै पर्बतमा कफी खेती सुरू भएको जिल्ला कृषि विकास कार्यालय पर्बतले जनाएको छ । गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले देखाएको छ। सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ३७.८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०.७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै आएका छन् ।