अर्थतन्त्रमा कोरोना असरबारे कांग्रेसले अध्ययन थाल्यो


काठमाडौं, (नेस)

नेपाली कांग्रेसको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ले अर्थतन्त्रमा कोरोना भाइरसले पारेको असरबारे अध्ययन शुरू गरेको छ। प्रारम्भिक बैठक बसी समितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरका बारेमा अध्ययन शुरू गरेको समितिका संयोजक डा. रामशरण महतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले ल्याउन लागेको बजेटका विषयमा पनि बैठकमा विस्तृत छलफल भएको थियो।

‘मुलुकको समग्र आर्थिक स्थिति र कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरबारे हामीले प्रारम्भिक छलफल शुरू गरेका हौं,’ नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो। समितिको बैठकले खर्च कटौती गर्नका लागि सरकारलाई सुझाव दिनेसमेत निर्णय गरेको छ। यस्तै कोरोनाले पारेको असर न्यूनीकरण तथा युवा–रेमिट्यान्स र रोजगार सुधारका लागि विशेष कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिने बैठकले निर्णय गरेको छ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. महतले समितिले आगामी बजेटमा सरकारले समेट्नुपर्ने क्षेत्रबारे सरकारलाई सुझाव दिने बताउँदै भन्नुभयो–‘यो समितिको प्रारम्भिक बैठक हो, विशेष निर्णय केही दिनमा सार्वजनिक गर्नेछौं।’

यस्तै बैठकले सरकारले २ वर्षमा गरेको कामको समीक्षासमेत गरेको छ। अर्थतन्त्रमा कोरोनाले पारेको असरलगायतका विविध क्षेत्रमा अध्ययन गर्नका लागि नेपाली कांग्रेसले केही दिनअघि समिति गठन गरेको थियो। सो समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका, संसद्मा अर्थ समिति संयोजन गरिरहेका एवम् राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका व्यक्तिहरू रहेका छन्।