अन्तर्राष्ट्रिय उडानमा सहभागीको पीसीआर टेस्ट हुने


राजु श्रेष्ठ/परिवर्तन देवकोटा

लकडाउनपछि अन्तर्राष्ट्रिय उडानमा सहभागी नेपाली वायुसेवा कम्पनीका चालक दलका सदस्य र अन्य कर्मचारीहरूको स्वास्थ्य परीक्षण हुने भएको छ। मंगलबारदेखि वैदेशिक उडानमा सहभागीहरूको कोरोनासम्बन्धी स्वास्थ्य जाँच पीसीआर टेस्ट हुन लागेको हो।

लकडाउनपछि स्वास्थ्य सामग्री ढुवानीका साथै विदेशी यात्रु पु¥याउन विभिन्न देशमा भएका चार्टर्ड फ्लाइटमा संग्लन चालक दलका सदस्य र अन्य कर्मचारीको पीसीआर टेस्ट गरिने भएको छ।

उडानका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्डलाई चालक दलका सदस्यले पालना गर्ने भए पनि भारतमा चार्टर्ड फ्लाइटमा सहभागी चालक दलका सदस्यलाई कोरोना संक्रमण देखिएपछि नेपालमा पनि चार्टर्ड फ्लाइटका सहभागीको कोरोना जाँच गर्न दबाब परेको छ। लकडाउनको बीचमा नेपाल वायुसेवा निगम, बुद्ध एयरलगायतका वायुसेवा कम्पनीले चीन, जापान, अस्टे«लिया, ढाकालगायतका देशमा चार्टर्ड फ्लाइट भएको थियो।

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले पछिल्लो अवस्थामा आफूले चीन र अस्ट्रेलियामा उडान गरेको बताउनुभयो। उहाँले उडानका क्रममा सबैले नै स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनुशरण गरेको भन्दै आफूले भने व्यक्तिगत तवरबाट पनि स्वास्थ्य जाँच गरेको जानकारी दिनुभयो। नेपाल वायुसेवा निगमले यसबीचमा १२ वटा फ्लाइट गरेको थियो।

समग्र उडानमा चालक दलका सदस्य र अन्य कर्मचारीसहित करिब चार सय जना सहभागी भएका थिए। ती सबैको मंगलबारबाट पीसीआर टेस्ट गरिने निगमका प्रवक्ता अर्चना खड्काले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार लकडाउनपछि नेपाल एयरलाइन्सले ६ वटा चार्टर्ड उडान गरेको छ। साथै ५ वटा प्यासेन्जर उडान भएका छन्। पहिलोपटक चीनको वुहानमा गरेको उडानसहित ७ चार्टर्ड उडान भएका छन्। जापान, बंगलादेश तथा भारतमा १÷१ उडान भएका छन् भने अस्ट्रेलियामा २ उडान भएका छन्।

‘एउटा उडानमा ३० देखि ४० जनासम्म संलग्न हुन्छन्। जसमा क्याप्टेन, क्याबिन क्रुज, टेक्निसियन, लोड मास्टर, सफाई कर्मचारी, लोडिङ कर्मचारी, चेकजाँचमा खटिने कर्मचारीलगायत संलग्न हुन्छन्। सबै उडानमा गरेर जम्माजम्मी ४ सय जना कर्मचारी संलग्न छन्।’ प्रवक्ता खड्काले भन्नुभयो–‘हामीले उडानमा संलग्न कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेका थियौं।

पालोअनुसार मंगलबारदेखि उडानमा संलग्न सबै कर्मचारीको कोरोना परीक्षण गर्छौं।’
नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘अहिलेसम्म हामीले विशेष क्वारेन्टाइन त बनाएका छैनौं। तर, परीक्षणपछि आउने नतिजा हेरेर सुरक्षाका अन्य उपायहरू अवलम्बन गर्छौं।’

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले लकडाउनको समयमा उडान त धेरै नै भएका छन्। एकिन तथ्यांक संकलन हुने क्रममा रहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘यसबीचमा नेपाल एयरलाइन्स, बुद्ध, श्री, हिमालयनलगायतबाट उडान भएका छन्। उडानमा संलग्नहरूको विमानस्थलमा सामान्य चेकजाँच हुन्छ। अरू परीक्षण हामीसँग सम्बन्धित होइन। स्वास्थ्य मन्त्रालयले नै यसबारे काम गरिरहेको होला।’

 

“अहिलेसम्म क्वारेन्टाइन बनाएका छैनौं”

हामीले यसबीचमा १२ वटा अन्तर्राष्ट्रिय उडान ग¥यौं। एउटा उडानमा ३० देखि ४० जनासम्म संलग्न हुन्छन्।

सबै उडानमा गरेर करिब ४ सय जना कर्मचारी संलग्न छन्।’ अहिलेसम्म हामीले विशेष क्वारेन्टाइन त बनाएका छैनौं। तर, परीक्षणपछि आउने नतिजा हेरेर सुरक्षाका अन्य उपायहरू अवलम्बन गर्छौं।’

 

 

“स्वास्थ्य सुरक्षामा सचेत छौं”

हामीले लकडाउनका समयमा आन्तरिक तथा बाह्य दुवै उडान ग¥यौं। हामीले के–के सुरक्षा सावधानी अपनाउने भनेर सुरक्षा नीति नै तयार गरेका छौं। लकडाउनका समयमा उडानमा संलग्नको छुट्टै स्वास्थ्य परीक्षण गरेका छैनौं।

तर, उडानका क्रममा सबैको स्वास्थ्य परीक्षण हुने हुँदा कसैमा पनि भाइरस छैन अर्थात सबै निरोगी छन् भन्ने प्रमाणित भइसकेपछि हामीले फेरि स्वास्थ्य परीक्षण गरिरहनुपर्दैन भन्ने हाम्रो बुझाइ हो। यद्यपि, हाम्रा कर्मचारीको स्वास्थ्य सुरक्षामा हामी सचेत र सजग छौं।

 

 

“मैले परीक्षण गरिसकेको छु”

मैले लकडाउनका समयमा अहिलेसम्म तीन उडान गरें। अस्ट्रेलियामा दुईपटक र चीनको गोन्जाउमा एकपटक। कोरोना भाइरसबारे हामी सचेत र सजग छौं। मैले सम्पूर्ण परीक्षण गरिसकेको छु।

नेपाल एयरलाइन्सले स्वास्थ्य परीक्षण गर्दै छ। यो अत्यन्तै खुशीको कुरा हो। हामी सुरक्षित छौं। कोरोनाबाट बच्नका लागि सामाजिक दूरी, मास्क, पञ्जालगायतका सबै किसिमका सुरक्षा नीति हामीले अवलम्बन गरेका छौं।