कोरोना र मौसमको मारमा पर्वतका किसान

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

कोरोनाको विश्वव्यापी महामारी र मौसमको मारमा परेका किसानहरुको समस्या बुझ्न कृषि ज्ञान केन्द्रले स्थलगत अनुगमन शुरु गरेको छ । पर्वत र बागलुङमा कोरोनाले कृषकले भोगेका समस्या र मौसमले गरेको क्षतीबारे कृषि ज्ञान केन्द्रका प्रमुख सहित प्राविधिक कर्मचारीहरु कृषकका खेतवारीमै पुगेका छन् ।

कोरोनाको त्रासमा रहेका किसानहरुलाई हौसला दिन, बजारीकरण, मल, वीउ ढुवानी, रोगकिराको समस्या बुझ्न र कृषकहरुले तयार पारेका मोडल फर्महरुको अवस्था बुझन अनुगमन शुरु गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

पर्वत र बागलुङ जिल्लामा छुट्टाछुट्टै टोली बनाएर अनुगमन शुरु गरिएको छ । कार्यालय प्रमुख बासुदेव रेग्मी सहित प्राविधिकहरुले पर्वतका ७ वटै पालिका र बागलुङका १० वटा पालिकाका प्रत्येक किसानको घरमा पुगेर खेतीवालीको समस्या संकलन गर्न शुरु गरेका छन् । कार्यालय प्रमुख रेग्मीले कोरोनाले भन्दा किसानलाई पछिल्लो समय मौसमले बढि मार परेको बताउनुभयो ।

असिनापानीले खुल्ला रुपमा गरिएको मकै, गहुँ, तरकारी र सुन्तलाजातका फलफुल, आँपका फुल झारेर किसान समस्यामा रहेको जानकारी दिनुभयो । निरन्तर झरी परिरहँदा प्लाष्टिक घरभित्र गरिएको खेतीमा रोग देखिन थालेको रेग्मीले बताउनुभएको छ । तर, वाहिर गरिने खेती भन्दा प्लाष्टिक घरभित्रको खेती बढि सुरक्षित रहेको रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीले भन्नुभयो,‘ कुश्मा नगरपालिका ११ पकुवामा मंगलवार अनुगमन गर्दा अधिकाँश किसानहरुले प्लाष्टिक घरभित्र लगाएका गोलभेँडामा टुट्टा किराको आक्रमण र डडुवा रोग लागेको देखियो । निरन्तर रुपमा वर्षा भैरहनु र तापक्रम सन्तुलन नहुँदा रोगको प्रकोप बढ्दै गएको छ ।’ किसानलाई समस्या समाधानका उपायहरुको बारेमा सुझाव दिईएको रेग्मीले बताउनुभयो ।

पकुवामा गोबिन्द पौडेल, विश्व जोशी, किशोर रिमाल, सूर्यबहादुर केसी, डिल्लीराम पौडेल, गणेश पौडेल, दिपेन्द्र क्षेत्री लगायत दर्जन बढि यूवाले गरेको व्यवसायीक कृषि फर्महरुको अनुगमन गरिएको थियो । किसानहरुले कृषि ज्ञान केन्द्रले आफ्नो फर्ममा आएर सबै समस्या बुझेर आवश्यक सल्लाह दिएकोमा राहातको महसुस भएको बताए ।

कोरोनाको त्रासका कारण गरिएको लकडाउनले उत्पादित तरकारी ढुवानी गर्न र बजारमा पुगेर मल, किटनाशक विषादी ल्याउन समस्या भैरहेको किसानहरुले गुनासो गरे । रेग्मीले बजार सम्म सामान ढुवानी गर्न प्रसासनले सहजीकरण गरिरहेको र मल, वीउ, विषादी खरिद गर्न एग्रोभेटहरु खुल्ला रहेको अवगत गराउनुभयो ।

बागलुङको बरेङ गाउँपालिकामा आईतवार र सोमवार अनुगमन गरिएको थियो । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार पर्वतको जलजला र मोदी गाउँपालिकामा पनि प्राविधिकहरु गाउँगाउँमै पुगेर अनुगमन शुरु गरेका छन् । ज्ञान केन्द्रमा उपलब्ध कर्मचारीहरु कोरोनाको त्रासमा बिच फिल्डमा पुगेर अनुगमन गरेकोमा किसानहरु खुशी छन् ।

यस्तै कार्यालयले असिनापानीले वैशाख महिनामा पु¥याएको क्षतीका बारेमा अनुगमन गरि क्षतीपुर्तीको सिफारिस गरिसकेको कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार पर्वतमा २ करोड १५ लाख तथा बागलुङमा २ करोड १९ लाख बराबरको क्षती भएको थियो ।

कोरोनाले कृषिको महत्व बढाएको छ । अरु पेशा, व्यवसाय र बैदेशिक रोगजारी अहिले धरासायी हुँदै गैरहेका छन् । बिदेश गएका यूवाहरु धमाधम गाउँ फर्किएका छन् । कोरोनाले अब गाउँमा रमाउन र बाँझो खेतमा खेतीपाती गर्ने पाठ सिकाएको अगुवा किसानहरु बताउँछन् । किसानहरुले राज्यले कृषिलाई बढि प्राथमिकतामा राखेर अवको नीति तथा कार्यक्रम बनाउन माग गरेका छन् । हेलाको पेशाका रुपमा हेरिने कृषि पेशा अहिले सम्मानित पेशामा दहरिन थालेको छ ।