काभ्रेपलाञ्चोक जिल्लाका एम्बुलेन्समा जिपिएस

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

विरामीलाई सहि समयमा सेवा प्रदान गर्ने उदेश्यले जिल्लामा रहेका एम्बुलेन्सहरुमा जिपिए डिभाईस जडान गरी मनिटरिङ्ग शुरु गरिएको छ । ३५ वटा एम्बुलेन्स मध्ये बुधबार धुलिखेलमा ३० वटा सहभागि थिए । नेपाल रेडक्रस सोसाईटी अस्पताल पुर्व सेवाका प्रमुख भोजराज ओझाका अनुसार जिल्लामा रहेका ३५ मध्ये ३० वटा एम्बुलेन्समा जिपिएस जडान प्रकृया शुरु गरिएको छ । बुधबार एकै दिनमा १० वटा एम्बुलेन्समा जडान गरिएको छ । बाँकी एम्बुलेन्समा विस्तारै जडान गरिने ओझाले बताउनु भयो ।

‘धुलिखेल अस्पतालमा रहेका दुईवटा एम्बुलेन्समा पहिल्यै जिपिएस जडान गरिएको थियो भने नेपाल रेडक्रस सोसाईटी मार्फत हस्तान्तरण गरिएका चौरी देउराली र बेथान्चोक गाउँपालिकामा रहेका दुई गरी चारवटा एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ’– ओझाले भन्नुभयो–‘बाँकी ३१ मध्ये पाँचवटा एम्बुलेन्स सम्पर्कमा नगएको, नियमित नविकरण नगरेको तथा कागजपत्र समेत नभएको भन्दै जिपिएस प्रणाली जडानमा सहभागि भएका छैनन ।’ एम्बुलेन्स सेवाका लागि हटलाईन १६६०११२२००० नम्वरमा फोन गर्न सकिने ब्यवस्था मिलाईएको छ ।

जिपिएस प्रणालीमा जडान भएको एम्बुलेन्सका बारेमा धुलिखेल अस्पतालमा रहेको मनिटर तथा सम्वन्धित गाउँपालिका तथा नगरपालिका र एम्बुलेन्स ब्यवस्थापन समितिले संचालन गरेको मोवाईलमा रेकर्ड रहनेछ । हरेक दिनको रेकर्ड वा बार्षिक तथा चाहेको समयवाधीको रेकर्ड लिन सकिने गरी जिपिएस प्रणाली जडान गरिएको छ । जिपिएस प्रणाली मार्फत एम्बुलेस भएको अवस्थामा छैन भन्ने र जान नमान्ने अवस्थामा समेत सहजिकरण हुनेछ भने विरामीको स्थान नजिकै भएको एम्बुलेन्सलाई पहिलो प्रथामिकता राखी पठाईनेछ ।

एम्बुलेन्सको दुरुपयोग समेत नहुने विश्वास रहेको ओझाले बताउनु भयो । जिल्लामा ख बर्गका चारवटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् भने ग वर्गका ३१ वटा एम्बुलेन्स छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोकमा २७ वटा एम्बुलेन्स मध्ये तीनवटा एम्बुलेन्समा जडान गरिएको जिपिएस धुलिखेल अस्पतालमै केन्द्रित गरिएको छ । बाह्रविसे, जलविरे र मेलम्चीमा रहेका एम्बुलेन्समा प्रविधि जडान गरिएको ओझाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय काभ्रे, धुलिखेल अस्पताल, नेपाल रेडक्रस सोसाईटी समेतको सहकार्यमा पालिकाहरुको सहयोगमा उक्त प्रविधि जडान गरिएको छ । प्रविधि जडान गरे बापत पालिकाहरुले ५ वर्षको डिभाईसको १२ हजार ५ सय र इन्टरनेट खर्च बापत मासिक ५ सय रुपैया तिर्नु पर्नेछ ।

प्रशासकिय प्रमुख र स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नेपाली सेना विष्णु दल गण धुलिखेल, धुलिखेल अस्पताल र नेपाल रेडक्रस सोसाईटीले कोरोना संक्रमणका आशंका भएका ब्यक्तिहरुको उद्धार, उपचार र ब्यवस्थापनका बारेमा गरेको तयारीका बारेमा जिल्लामा रहेका १३ वटा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरुलाई अभिमुखिकरण गराएको छ भने एम्बुलेन्स चालकहरुलाई ट्राफिक सचेतनाका बारेमा जानकारी गराईएको छ ।

महामारीका बेला जिम्मेवारी अनुसारको दायित्वका बारेमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाली सेना विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्का, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल लामा, धुलिखेल अस्पतालका विशेषज्ञहरुको टोलीले अभिमुखिकरण गराएको थियो ।

नेपाली सेना र धुलिखेल अस्पतालको टोलीले तयारीका सम्वन्धमा नमुना प्रर्दशन गरेको थियो । गणपति कर्णेल सुबास खड्काले नेपाली सेनाको विष्णु दल गणले कोरोना संक्रमण फैलन नदिन जनचेतना मुलक कार्यक्रमका साथै कोरोना संक्रमण आशंका भएका ब्यक्तिहरुको तत्काल उद्धार र उपचार, उपचार पछिको अवस्थाका बारेमा समेत तयारी गरेको जानकारी दिनु भयो । गणले आफ्नै ब्यारेकमा भएको बुलेरो गाडी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

चालकहरुको सुरक्षाका लागि पिपिई सेट, सर्जिकल मास्क सेनिटाईजर, एम्बुलेन्समा आवश्यक पर्ने प्राथमिक उपचारका सबै सामाग्री, अक्सिजन सिलिण्डर, विरामीको श्वास समेत चालकसम्म पुग्न नसक्ने गरी एम्बुलेन्स र बुलेरो गाडीको ब्यवथापन गरेको कर्णेल सुबास खड्काले जानकारी दिनु भयो । नमुना प्रर्दशनी जिल्ला स्थित कमाण्ड पोष्ट तथा आपतकालिन ब्यवस्थापन कमिटीका सदस्यहरु, सल्लाहकारहरु, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नमुना प्रर्दशनीमा नेपाली सेनाले एम्बुलेन्स देखि अस्पताल र शव अन्त्येष्टी सम्मको तयारी गरेको छ । रोग फैलन नदिन नेपाली सेनाले किटनासक औषधी छर्ने देखि ब्यक्तिको सुरक्षा र विरामीको सुरक्षाका लागि विशेष ध्यान दिएको छ । शंकास्पद ब्यक्तिको उद्धारमा जाँदा सुरक्षा, एम्बुलेन्सको अवस्था, विरामीका परिवारलाई दिईने सल्लाह, विरामी उपचार गराउन ल्याउँदा ध्यान दिनु पर्ने विषय र अस्पतालसम्म पु‍¥याउने र अस्पताल पु‍¥याए पछिको बारेमा समेत तयारी गरेको छ ।