म्याग्दीमा आज २ जना डेंगु संक्रमित थपिए, संक्रमितको सङ्ख्या ७ पुग्यो

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा आज थप २ जनामा डेंगुको सक्रमण पोजिटिभ पाइएको छ । उच्च ज्वरो आउनु, शरिरमा जाडो हुनु र जोर्नीहरु दुख्न थालेपछि ल्याब परीक्षण गर्दा उनीहरुमा डेंगु रोगको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । तनहुँ जिल्ला घर भई हाल बेनी नगरपालिका–७, मंगलाघाट बस्ने २८ वर्षीय युवा र मंगला गाउँपालिका–१, कुहुँका २५ वर्षीय युवामा डेंगु पोजेटिभ देखिएको बेनी अस्पतालका मेडिकल रेकर्र्डर सुपरभाइजर प्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले दुवै जनाको चिकित्सकको निगरानीमा उपचार भैरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । बुधबार थपिएका दुई जनासहित म्याग्दीमा डेंगु संक्रमितको सङ्ख्या ७ पुगेको छ । गत आइतबार बेनपाको अर्थुङ्गे, पुलाचौर र घतानमा एकएक जनामा डेंगु पोजिटिभ भेटिएको थियो । यसअघि डेंगु पोजिटिभ देखिएका बेनपाको एकजना संक्रमितलाई थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी समेत रहनुभएका मेडिकल रेकर्डर शर्माले बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार बेनी नगरपालिकामा ४, मंगला गाउँपालिकामा २ र मालिकामा १ जनामा डेंगु देखिएको बेनी अस्पतालले जनाएको छ । कोभिड–१९ का विरुद्ध लकडाउन जारी रहेको अवस्थामा जिल्लाको ग्रामीण क्षेत्रमा नै डेंगुका संक्रमितहरु भेटिनुले समयमै सचेत बन्नुपर्ने चिकित्सकहरु बताउँछन् । पछिल्लोपटक डेंगुका संक्रमितहरु बढ्दै जान थालेपछि जिल्ला डेंगुरोगको उच्च जोखिममा परेको छ ।

यसैबीच म्याग्दीमा डेंगुको संक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले सचेतनामूलक कार्यक्रमहरु सुरु गरेका छन् । वडास्तरीय कार्ययोजना निर्माण गरी टोलटोलमा अभियान सञ्चालन गरिएकोे छ । डेंगुले प्रकोपको रूप लिन सक्ने जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरी नगर भित्रका वडाहरुमा सचेतनामूलक कार्यक्रमसहित डेंगुरोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान थालिएको हो ।