स्वास्थ्य पूर्वाधार चुस्त बनाउन सांसदहरुको माग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकलाई स्वदेश नफर्काएको भन्दै सरकारले आलोचना भईरहेको बेला सांसदहरुले भने ती नागरिक स्वदेश फर्काउनुअघि स्वास्थ्य पूर्वाधार चुस्त पार्न सरकारसँग माग गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकहरु स्वदेश फर्किन चाहेपनि सरकारले भने आफू जहाँ रहेको त्यहीँ बस्दा सुरक्षित रहने भन्दै स्वदेश नफर्किन आग्रह गरेको थियो ।

संघिय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुधबार भएको छलफलमा सांसदहरुले ती नागरिकहरु जो स्वदेश फर्किन चाहेको अबस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेको हो । बैठकमा बोल्दै सांसदहरुले भारतीय सीमा क्षेत्रमा डेढ महिना देखि नागरिकहरु बसिरहेको भएपनि सरकारले प्रवेश निषेध गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

स्वदेश फर्किन चाहाने विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउनु पर्ने धारणा समितिका सदस्य तथा सांसद माधवकुमार नेपालले राख्नुभयो । ‘लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकहरुलाई नेपाल ल्याउन सकिए राम्रो हुन्छ ।’, उहाँले भन्नुभयो ।

अर्का सांसद भीम रावलले बैठकमा बोल्दै सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुस चरित्र भएको बताउनुभयो । ‘सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई के कारणले रोक्नुप¥यो ? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस ।’, उहाँले भन्नुभयो ।
‘भारतमा रहेका व्यक्तिहरुलाई त्यतीकै ल्याउनुहोस् भनेर कसैले भनेको छैन् ।

जुन व्यक्तिमा संक्रमण छैन त्यसलाई ल्याउनुहोस् ।’, उहाँले भन्नुभयो–‘यहाँ ल्याएर कति दिन क्वारेन्टाइनमा राख्नुपर्ने हो राख्नुहोस् ।’ सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो–‘उनीहरुलाई सुरक्षीत नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ की छैन ?’