संक्रमित भेटिएको जिल्लाबाट आएका २३ जनालाई सिन्धुलीमा क्वारेन्टाईनमा राखियो

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको विभिन्न स्थानिय तहमा आज(बुधवार) २३ जनालाई क्यारेन्टाईनमा राखिएको थियो । कमलामाई, दुधौली नगरपालिका र मरिण गाउपालिकामा गरी २३ जनालाई क्यारेन्टाईनमा राखिएको हो । मरिण गाउपालिकाले आज १८ जनालाई क्यारेन्टाईनमा राखेको छ ।

कोरोना भाईरसको संक्रमीत भेटिएको जिल्ला रौतहटबाट आएका ४ जना बालबालिका सहित १८ जनालाई मरिण गाउपालिकाले क्यारेन्टाईनमा राखेको हो । मरिण गाउपालिका वडा नं. ७ थामी टोल घरभई रौतहटको पर्सुवा स्थित बि ईट्टार्भट्टामा काम गर्दै आएका उनीहरु सबै १८ जना पैदलै हिडेर सिन्धुलीको हरिहरपुरगढी गाउपालिका आईपुगेका थिए ।

रौतहटबाट आउनेहरुमा १३ जना पुरुष, ५ महिला रहेको मरिण गाउपालिकाका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो । रौतहटबाट हिडेरै हरिहरपुरगढी गाउपालिकामा आईपुगेका उनीहरुलाई हिजो(मंगलवार)राती हरिहरपुरगढीको क्यारेन्टाईनमा राखिएको र आज मरिण गाउपालिकाले त्यहाबाट उद्धार गरी ल्याएर मरिण बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाइन राखिएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

सामान्य चेकजाँच पछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाई छ । रौतहटमा अहिले सम्म ३ जनामा कोरोना भाईरस संक्रमित फेला परेको सरकारले पुष्टी गरेको छ । यता सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा पनि ५ जना क्यारेन्टाईनमा राखिएको छ ।

कमलामाई नगरपालिका –६ भु– संरक्षणको कार्यालयमा रहेको क्यारेन्टाईनमा रौतहट, सर्लाहीको हरिवन र जनकपुरबाट आएका एक÷एक जना गरी तिन जना र दुधौली नगरपालिकाको क्वारेन्टाईनमा २ जना गरी ५ जना क्यारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिका –६ भु– संरक्षणको कार्यालयमा रहेको क्यारेन्टाईनमा राखिएकाहरु सिन्धुलीमाढीमा विभिन्न पेसा व्यवसाय गर्ने व्यक्तिहरु रहेका छन् ।