बौद्धका पाँच सय परिवारलाई सहयोग


कोरोना भाइरसका कारण जारी लकडाउनको समस्यामा परेका ५ सय परिवारलाई बौद्धनाथ क्षेत्र विका समितिले राहत प्रदान गरेको छ। समितिले राजधानीको बौद्ध क्षेत्रमा बसोबास गर्ने कमजोर आय भएका पीडित परिवारलाई झन्डै एक महिना पुग्ने दाल–चामाललगायतका खाद्य सामग्री सहयोग गरेको हो।

त्यस्तै समितिले विश्व सम्पदा बौद्धनाथ क्षेत्रका मुख्य स्थान (कोरजोन), बफरजोन, बौद्ध बजार, फूलबारी, धाराटोल, ग्योइ लिछाङलगायतका क्षेत्रका घरधनीलाई ३ सय ५० थान स्यानिटाइजर, माक्स, पन्जा र साबुन वितरण गरेको अध्यक्ष चन्द्रमान लामाले जानकारी गराए। उनका अनुसार बौद्धनाथ परिसर, बजार, टुसाल, फुलबारी, तीनचुली, आनन्दपुर, रामहिटी, सेतो गुम्बा, धाराटोललगायतका क्षेत्र पूर्ण निर्मलीकरण (स्यानिटाइज) गरेको छ।

समितिले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा ५ लाख रुपियाँ सहयोगसमेत गरेको छ। समितिका अध्यक्ष चन्द्रमान लामा, सदस्य–सचिव वसन्त लामालगायतको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ५ लाख रुपियाँको चेक हस्तान्तण गरेको हो।

कोरोना भाइरसको संक्रमणकालीन अवस्था न्यूनीकरणका लागि आफूहरू महिना दिन अघिदेखि नै सक्रिय रहेको समितिका अध्यक्ष लामाले बताए। समितिले बौद्ध क्षेत्रका होटलहरू अनुगमन गरी विदेशी पयर्टकको अवस्था निरीक्षणसमेत गरेको छ। सदस्य–सचिव लामाका अनुसार हाल बौद्ध क्षेत्रका होटलहरूमा २२ जना विदेशी पर्यटक बसिरहेका छन् भने उनीहरूको अवस्था सामान्य छ। ‘केही समस्या आयो भने पर्यटन प्रहरीमार्फत समितिलाई खबर गर्नू, उद्धारका लागि तयार छांैं भनेका छौं।’ –लामाले भने।