जापानमा आपतकाल अरु बढाउने तयारी

0
Shares

टोकियो । 

 जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो ।

प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । बिहीरबा संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताउनुभएको छ ।

बुधबार पनि सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री आबेले मानिसहरुमा नयाँ संक्रमण देखिएको बताउँदै भन्नुभएको छ, “के हामी मे ६ भित्रै आपतकाल हटाउन सक्छौं रु मेरो विचारमा अझ गम्भीर परिस्थिति आउने देखिँदैछ ।”

निक्की अखबार समेतका स्थानीय संचार माध्यमहरुले कोरोनाभाइरस र आपतकालका बारेमा शुक्रबार विज्ञहरुसँग सरकारले छलफल गर्न लागेको बताएका छन् । विज्ञहरुले भने आपतकालको घोषणालाई यथावत राख्न सुझाव दिँदै आएका छन् ।

आपतकालको घोषणा कहिले गरिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन । तर प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा अगाबै आपतकालको घोषणा गरी द्विविधा अन्त्य गरिने बताउनुभएको छ । उहाँले व्यवसाय, विद्यालय र संस्थाहरु खोल्न उपयुक्त समय आवश्यक हुने पनि बताउनुभयो ।

जापानमा आपतकाल घोषणा गरिए पनि उल्लंघन गर्नेमाथि सजायको व्यवस्था नगरिएका कारण युरोप वा अन्यत्रको जस्तो आपतकालीन व्यवस्था लागू भएको छैन । गभर्नरहरुलाई व्यवसाय वा स्कुल बन्द गर्न तथा मानिसलाई घरभित्रै बस्न आग्रह गर्न सक्छन् तर त्यसको उल्लंघन गर्नेमाथि कारबाही गरिन्न ।

क्षेत्रीय गभर्नरहरुले आपतकाललाई बढाउन यसअघि नै आवाज उठाएका छन् । अप्रिलमा शुरु हुने विद्यालयको नयाँ सत्रलाई सेप्टेम्बरमा सार्न सुझाव पनि गभर्नरहरुले दिएका छन् । जापानमा गत मार्चदेखि नै विद्यालयहरु बन्द छन् । जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ । तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ । कोरोनाभाइरसको संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरुको भनाई छ ।