वासिङ्टन ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक ९अप्रिलदेखि जुन महिनासम्म० मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ ।
अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख छ । कोरोनाभाइरसका कारण सन् १९३० को दशकयताकै यो सबैभन्दा ठूलो संकुचन हो । यो संकुचनलाई ठीक ठाउँमा ल्याउन वर्षौं लाग्ने अनुमान गरिएको छ ।
जनवरीदेखि मार्च महिनासम्मको अवधिमा अमेरिकी अर्थतन्त्र झण्डै ४।८ प्रतिशतले घटेको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले कोरोनाभाइरसका कारण धेरै अमेरिकी घरभित्रै रहनु पर्ने भएकाले अमेरिकाको अर्थतन्त्र दोस्रो चौमासिकमा अरु खराब अवस्थामा पुग्ने संकेत गर्नु भएको छ ।
दुई करोड ६० लाखभन्दा बढी अमेरिकीले यसअघि नै रोजगारी गुमाइसकेका छन् भने बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या हरेक दिन बढ्दै गएको छ । बिहीबार बेरोजगारी भत्ताका लागि आवेदन दिनेको नयाँ विवरण पनि सार्वजनिक हुँदैछ ।
पावेलले हालको आर्थिक संकटमा सुधार ल्याउन समय लाग्ने बताउँदै अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कंग्रेस र केन्द्रीय बैंकले पर्याप्त कार्य गर्न नसके अर्थतन्त्रमा निकै जोखिमपूर्ण दिर्घकालीन असर पर्ने जानकारी दिनुभयो ।
अमेरिकाका धेरै पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । ग्राहक र आम्दानीको अभावमा हप्तौं टिक्न यी व्यवसायलाई कठिन छ, र आर्थिक मद्दत बेगर यिनीहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछन् ।
विश्लेषकहरुको भनाईमा दोस्रो चौमासिकमा अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले घट्नेछ । नोबेल पुरस्कार विजयी अर्थशास्त्री पल रोमर सबै अमेरिकी नागरिकको कोरोनाभाइरस परीक्षण गर्न अमेरिकी प्रशासनले १०० अर्ब डलर खर्च गर्नु पर्ने बताउनुहुन्छ । हालसम्म करिब २ प्रतिशत नागरिकको मात्र परीक्षण गरिएको छ । रोमरले भन्नुभयो, “यो समस्या सुल्झाउन सकिन्छ, र यसका लागि १०० अर्ब डलर खर्चिनु पर्छ । यो कार्य त्यति कठिन होइन ।”
प्रतिक्रिया