सुरुङमार्गमा लकडाउनको असर: जापानीहरू स्वदेश फर्किए, नागढुंगा सुरुङमार्गको काम ठप्प


सुरेश तामाङ, काठमाडौं 

सरकारले राष्ट्रिय प्राथमिकता पाएको तथा अन्य विकास निर्माणको काम सुचारु गर्न दिने खुकुलो बाटो अपनाए पनि नागढुंगा सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन ।

मुलुकमा जारी लकडाउनका कारण त्यहाँ खटिएका स्थानीय मजदुुर तथा निर्माण कम्पनीका प्राविधिक आ–आफ्नो घर फर्किएपछि सुरुङ निर्माणको काम अघि बढ्न नसकेको हो । लकडाउनपछि सुरुङमार्ग निर्माणको काम ठप्प रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाले लकडाउनपछि सुरुङ निर्माणमा खटिएका जापानी प्राविधिकसहित २ सय ७० जना कामदार आ–आफ्नो घर फर्किएका जनाएको छ । जसको असर आयोजनामा परेको छ ।

आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले प्राविधिकदेखि अपरेटर तथा मजदुरहरू आ–आफ्नो घर लागेपछि निर्माण कम्पनीका जापानी प्राविधिकसमेत स्वदेश फर्किसकेको बताउनुभयो ।

‘लकडाउनपछि आयोजनाको काम पूर्णरूपमा ठप्प छ । स्थानीय मजदुरदेखि उपत्यकाबाहिरका मजदुर, प्राविधिक, अपरेटर सबै घर फर्केको अवस्था छ भने निर्माण कम्पनी जापानी प्राविधिक पनि आफ्नो देश फर्किसकेका छन् ।’ –उहाँले भन्नुभयो ।

सरकारले लकडाउनका बेला विकास निर्माणको काम सुचारु गर्न बाटो खुकुलो पारे पनि मजदुर नहुँदा सुरुङ निर्माणको काम प्रभावित बनेको उहाँले बताउनुभयो । ‘लकडाउनका बेला सरकारले काम शुरू गर भनेको छ । कामदारदेखि निर्माण कम्पनी पनि स्वदेश फर्किसकेको अवस्था छ ।’ –उहाँले भन्नुभयो । यस्तो अवस्थामा ठेकेदार पक्षका प्राविधिकहरू नेपाल फर्केपछि मात्रै काम गर्ने सहज वातावरण हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्राथमिकता प्राप्त बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी गएको कात्तिक २८ गतेबाट निर्माणको काम थालेको थियो । जापान सरकारको ऋण सहयोगमा जापानी कम्पनी हाज्मा-आन्दो जेभीले सुरुङमार्गको निर्माण रहेको छ ।

ठेकेदार पक्षबाट प्रस्तुत कार्ययोजनाअनुसार यही मे महिनाको अन्तिम वा जुन महिनाको पहिलो हप्ताबाट सुरुङ खन्ने काम शुरू गर्ने योजना छ । सुरुङ खन्न ठेकेदार पक्षले आवश्यक उपकरण ल्याउन प्रक्रिया थालिसकेको आयोजनाले जनाइसकेको छ ।

यसबीचमा निर्माण कम्पनीले सुरुङ मार्गबाहेक सुरुङ मार्गसम्म पुग्ने पहुँचमार्ग, साइड क्लियरको काम, बस्ने घरहरू निर्माण, टनेल प्ल्याट फर्म, कल्भर्टलगायतका निर्माण कार्य गरिरहेको अयोजना प्रमुख खरेलले बताउनुभयो ।

यहाँ बन्ने २ दशमलव ७ किलोमिटर लम्बाइको सुरुङमार्ग र फ्लाई ओभर नेपालकै पहिलो हुने दाबी आयोजनाले गरेको छ । आयोजनाको सुरुङ, फ्लाइओभर र सडक अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास आयोजनाले गरेको छ ।

उपत्यकाको मुख्य नाकाका रूपमा रहेको नागढुंगा नाकाका लागि यस सुरुङमार्ग निर्माणलाई महत्वपूर्णरूपमा हेरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि हालको सडकको रेखांकनमा सुधार हुने, यातायात सञ्चालनको समयमा कमी आउने र सडक यातायातलाई सुरक्षित र भरपर्दाे हुने जनाइएको छ ।