काठमाडौँ महानगरका ८ सय ८ को र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्टलाई तिव्रता दिएको छ ।आजसम्म ३२ मध्ये २५ वटा वडाका ८ सय ८ जनाको र्‍यापिड टेस्ट गरिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै काठमाडौँ महानगरपालिकाले सुरुमा वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गराएको थियो ।

काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार आज मात्रै ६, ७, ८ र ९ का १ सय ६८ जनाको टेष्ट गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । अब १,२ ३, ११, २८, २९ र ३० वडाको र्‍यापिड टेस्ट गर्न बाँकी छ । र्‍यापिड टेस्ट सुरु गरेको दोस्रो दिन वडा–४ मा ५१ र तेस्रो दिन अर्थात बैशाख ५ गते ९, १०, १५, ३१ र ३२ वडाका ३ सय ८६ जनाको टेष्ट गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

चौथौ दिन भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ गरी १० वटा वडाका ७८ जनाको टेष्ट गरिएको थियो । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो । आइतबार वडा–१२, १३, १४, १५, १६, १७ र २६ गरी १ सय ७६ जनाको टेष्ट गरिएको थियो । उनीहरुको पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेकालगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षणलाई तिव्रता दिएको जानकारी दिनुभयो ।

‘परिक्षणको क्रममा कोही छुटेका छन् र त्यस्तो जानकारी कसैलाई छ छ वा त्यस्तो व्यक्ति महानगरपालिका भित्र आएर बसोबास गरिरहेको कसैले देख्नुभएको छ भने सम्वन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खवर गर्नुहोला,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामी उहाँहरुको तत्काल परिक्षण गरेर उहाँलाई, उहाँको परिवारलाई र समग्र महानगरवासीलाई नै कोरोना संक्रमणको भयबाट मुक्त गराउन चाहन्छौँ ।’

उहाँले दोस्रो चरणमा फिल्डमा खटिरहेका र बढी सम्पर्कमा रहेका जनप्रतिनिधि, कर्मचारी र राहतमा खटेकाहरुको परिक्षणलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले विदेशबाट फर्किएकाहरुको तथ्याङ संकलनको कामलाई पनि तिव्रता दिइरहेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३ सय २१ जनाको विवरण संकलन गरेको जानकारी दिनुभयो ।