वडा समिति मार्फत् मात्र राहत वितरण गर्नुपर्ने

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाको स्वीकृति नलिईकन कुनै पनि संघसंस्थाले वडामा राहत वितरण गर्न नपाईने भएको छ ।महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिशचन्द्र लामिछानेले सोमबार १ देखि २९ वडाका वडाअध्यक्षहरुलाई महानगरपालिकाको स्वीकृत लिएर मात्र राहत वितरण गर्न भनि पत्र पठाएको हो ।

‘कुनै निकाय,संघसंस्था वा व्यक्तिले महानगरपालिका क्षेत्रभित्र राहत दिन चाहेमा महानगरपालिकामा सम्पर्क राख्नुपर्ने छ । ’महानगरपालिकाको स्वीकृति लिइसकेपछि आफूले राहत वितरण गर्न चाहेको वडामा वडा समितिमार्फत राहत वितरण गर्नुपर्ने छ ।’ पत्रमा भनिएको छ ।राहत दिन चाहने संघसंस्थाले महानगरपालिकाको स्वीकृति लिएर राहत दिन चाहेको वडाको वडा समिति मार्फत राहत वितरण गर्नुपर्ने पनि शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

यस अघि १२ वडाका वडाअध्यक्ष नारायणलाल अवालेले आफ्नो टोलमा समन्वय नगरी राहत वितरण गरेकोले स्थानीयले नाराबाजी गरेको थियो । कतिपय वडाअध्यक्षहरुले राहत वितरणमा पार्टीकरण गरेको आरोप लाग्न थालेको अवस्थामा शाखाले यस्तो नीति अपनाएको बुझिएको छ ।